काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ ।
कार्यालयले एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फुलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।
प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ ।
अवस्था ठीक नभएका गाडीमाथि कारबाही
यता भक्तपुरको जगातीमा विशेष यान्त्रिक जाँचका क्रममा अवस्था ठीक नभएका विङ्गर, हाइस र टाटासुमोलगायतका २७ भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नाका साथै १२ गाडीलाई नियन्त्रणमा लिएको छ ।
तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा आइतबार गरिएको जाँचका क्रममा ह्यान्ड ब्रेक नभएका, लाइट नभएका, टायर धेरै खिइएका गाडीका चालकलाई कारबाही गरिएको हो । नियन्त्रणमा लिएका १२ सवारी साधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने जनाइएको छ ।
अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आइतबार दिउँसो सवारी साधनको अवस्था जाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।