रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर अन्तिम चरणमा, असोजभित्रै पेश हुने

सांकेतिक तस्वीर

काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा रहेको छ । १३५.८८६ किलोमिटर सडकमा रेल निर्माणका लागि भारतले प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट तयार पारिसकेको छ ।

फाइनल लोकेसन सर्भेको काम सम्पन्न गरिसकेकाले उक्त कम्पनीले डीपीआर निर्माणका केही माइनर काम पूरा गरेर आगामी असोज महिनाभित्र पेस गर्ने योजना रहेको नेपाल रेलवे कम्पनीका इन्जिनीयर रवीन्द्र शाहले बताए ।

उनले उक्त कम्पनीले डीपीआर पेस गरेपछि मुआब्जाको काम सुरू गरिने बताए । मुआब्जापछि भारतीय कम्पनीले नै यो रेलमार्ग निर्माण गर्ने तयारी रहेको उनले बताए ।

‘यस खण्डमा फाइनल लोकेसन सर्भे र रेलमार्गको डीपीआरमा केही माइनर कामहरू बाँकी छ , त्यती पूरा हुना साथ यही सेप्टेम्बरभित्र बुझाउने कुरा छ,’ शाहले चाणक्य पोष्टसँग भने ।

रक्सौल–निजगढ–सिखरपुर–सिस्नेरी–साथीखेल–काठमाडौं खण्डमा रेलमार्ग निर्माण भारतले गर्ने भएको छ । .२०७६ भदौ १५ गते रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

भारतीय रेल्वेको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि भारतीय रेल्वेका कन्सल्ट्यान्टहरू नेपाल आएका थिए । भारतले समझदारीपत्र हस्ताक्षर हुनु अघि नै २०७५ को जेठ २५ गतेबाटै अध्ययन सुरू गरिसकेको थियो ।

रेलमार्गको प्रारम्भिक इन्जिनीयरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । उक्त रिपोर्ट भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड –केआरसीएल)ले तयार पारेको थियो ।

उक्त प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने छ । यो रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको छ ।

भारतले यो रेलमार्ग ब्रोडगेजमा बनाउने गरी प्रारम्भिक रिपोर्ट तयारी पारेको थियो । नेपालले भने यो रेलमार्गलाई स्टान्डर्ड गेजमा बनाइदिन आग्रह गर्दै आएको छ ।

प्रस्तावित रेलमार्गमा ४५ किलोमिटर खण्डमा सुरूङ रहने भएको छ । ४५ किलोमिटर सुरूङभित्रै रेलमार्ग बनाउनुपर्ने छ । विभिन्न स्थानमा साना ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको रेल विभागका सूचना अधिकारी अमन चित्रकारले बताए ।

यो प्रतिवेदन तयार हुनुअघि भारतीय कम्पनीले नेपाललाई दुई रुटको विकल्प दिएको थियो । १९० किलोमिटर र १३५ किलोमिटरको रेलमार्गमध्ये एक विकल्पमा यो रेलमार्ग तयार गर्न सकिने भन्दै भारतीय पक्षले एउटा छनोट गर्न भनेको थियो ।

१३५ किलोमिटरमा छोट्याएर निर्माण गर्दा भविष्यमा केही समस्या आउन सक्ने जानकारी भारतीय प्राविधिकले दिएका थिए । १९० किलोमिटर र १४० किलोटिरमा बनेको रेलमार्गमा गुड्ने रेल लगभग एउटै समयमा काठमाडौं ओहोर–दोहोर गर्न सक्ने भरतीय पक्षको भनाइ थियो । नेपालले भने रेलमार्गको लम्बाई पनि छोटो हुनुपर्ने र प्राविधिक हिसाबले लाभदायी पनि हुनुपर्ने बताएको थियो ।

नेपालले भविष्यमा मर्मत सम्भार र सञ्चालन गर्न सबैभन्दा सजिलो हुने विकल्पमा नै रेलमार्गको नक्सांकन गर्न भारतलाई भनेको थियो । त्यसकै आधारमा १३५ किलोमिटरमै रेलमार्ग बनाउने गरी भारतीय कम्पनीले प्रतिवेदन दिएको हो ।

 

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का अरू निर्णय Read Next

विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का अरू निर्णय