दशैंको अर्थतन्त्र ११ खर्ब, एक जनाको भागमा ३४ हजार खर्च

ठूला चाडपर्व दशैं तथा तिहारमा मुलुकको अर्थतन्त्र ११ खर्ब रुपैंया बराबरको हुने देखिएको छ । दशैं तिहारमा विदेशिएका नेपालीहरु फर्कने, रेमिट्यान्स प्रवाह बढ्ने, अटोमोबाइलको बिक्री बढ्ने, यात्रुको चाप, लत्ताकपडाको व्यापार, मासु तथा मदिराको बिक्रीलगायत सम्पूर्ण कारोबार ह्वात्तै बढ्ने भएकोले पनि दशैं, तिहार तथा छठमा करिब ११ खर्ब रुपैयाँ बराबरको अर्थतन्त्र चलायमान हुने अर्थशास्त्रीहरुले अनुमान गरेका छन् । नेपालमा दशैं तथा तिहारलाई सबैभन्दा ठूलो चाडपर्वको रुपमा मनाइन्छ । यस बेला सार्वजनिक विदा पनि सबैभन्दा लामो दिइन्छ ।

 

रेमिट्यान्स, तलबलगायत शीर्षकमा यस समयमा २२ अर्बबढी रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिने गरेको राष्ट्र बैंकले बताउदै आएको छ। त्यस्तै महालेखा नियन्त्रकको कार्यालयका अनुसार दशैंलगायत चाडपर्वमा सरकारी कर्मचारी (निजामति, सेना र प्रहरी) ले मात्र ७ अर्ब रुपैयाँ बढी पेश्की बुझ्ने गरेका छन् ।

 

देशको अर्थतन्त्रलाई नजिकबाट नियालिरहेका अर्थशास्त्री केशव आचार्यले वर्षभरीको सम्पूर्ण अर्थतन्त्रको करिब ४० प्रतिशत अर्थतन्त्रको हिस्सा दशैँ, तिहार र छठको रहेको बताउँछन् । ‘सामान्य अवस्थामा मात्रै पनि प्रत्येक महिना ८.३ प्रतिशतको दरले दुई महिनामा १६.६ प्रतिशत उपभोग गरिन्छ,’ उनले भने, ‘त्यसको दाँजोमा दशैं तिहार तथा छठको समयमा दुई गुणाभन्दा बढी उपभोग बढ्ने भएकोले समग्र वर्षभरको अर्थतन्त्रमध्ये उक्त चाडपर्वले मात्रै ४० प्रतिशत हिस्सा ओगट्ने भएको हो’ उनी भन्छन् । त्यसैले पनि वर्षदिनको अर्थतन्त्रमध्ये दशै– तिहारमा मात्रै ४० प्रतिशत हिस्सा ओगट्ने उनको दाबी छ ।

 

त्यस्तै, अर्का अर्थशास्त्री पिताम्बर शर्माले भने वर्षभरीको अर्थतन्त्रमध्ये दशैंको अर्थतन्त्रको हिस्सा ३० प्रतिशतसम्म हुने बताउँछन् । उक्त चाडपर्वमा दैनिक उपभोग्य सामाग्रीदेखि अटोमोबाइलसम्मको खरिद बिक्री बढ्ने भएकोले प्रत्येकमहिनाको समग्र कारोबारको तुलनामा यस समय कारोबार अत्यधिक बढ्ने उनको भनाई छ ।

 

नेपाल राष्ट्र बैंकले पनि दशैं तिहारले वर्षदिनको अर्थतन्त्र मध्येको २० प्रतिशत हिस्सा ओगट्ने तथ्यांक सार्वजनि गरेको विभिन्न अर्थशास्त्रीहरुको बताउँछन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणअनुसार आर्थिक वर्ष ०७५/७६ मा २७ खर्ब रुपैयाँ बराबरको मुलुकको कुल उपभोग थियो । अघिल्लो आवमा अर्थात आव २०७४/७५ मा भने २५ खर्ब ५५ अर्ब रुपैंया बराबरको मुलुकले कुल उपभोग गरेको अर्थ मन्त्रालयको तथ्यांकमा देख्न सकिन्छ ।

 

यसरी पछिल्लो वर्षहरुको ट्रेन्डलाई आधार मान्ने हो भने चालु आव ०७६/७७ मा झन्डै साढे २९ खर्ब बराबरको मुलुकमा कुल उपभोग खर्च हुने देखिन्छ । अर्थविज्ञ तथा अर्थशास्त्रीहरुकाअनुसार वर्षभरी हुने अर्थतन्त्रमध्ये दशैं, तिहार र छठको उपभोग हिस्सा करिब ४० प्रतिशत छ । जसअनुसार यो दशैं, तिहार र छठको अर्थतन्त्र ११ खर्ब रुपैयाँ बराबरको हुने देखिन्छ ।

 

त्यस्तै चाडपर्वको मुख्य समय अर्थात असोज र कात्तिक महिनाको अवधिमा प्रत्येक एक जना नेपालीले औसतमा ३४ हजार रुपैयाँ खर्च गर्ने देखिन्छ । दशैं, तिहार तथा छठको अर्थतन्त्र करिब ११ खर्ब रुपैयाँलाई नेपालको पछिल्लो जनसंख्या २ करोड ९७ लाखले भाग गर्दा उक्त खर्च निस्किएको हो ।

 

चलयमान अर्थतन्त्र

 

दशैं, तिहार तथा छठको अवधिमा अर्थशास्त्री आचार्य करिब ८ खर्ब रुपैयाँ नगद कारोबार हुने भने दुई खर्ब जिन्सीमा खर्च हुने बताउँछन् । दशैंमा राजधानी छाडेर करिब २५ लाख सर्वसाधरण उपत्यकाबाट बाँहिरीदै प्रत्येक एक जनाको आउँने जाने गाडिको भाडा औसतमा ५ हजार रुपैयाँ मात्रै हिसाब गर्ने हो भने पनि १२ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने देखिन्छ ।

 

त्यस्तै राजधानीमा ६५ हजारभन्दा बढी खसीबोका तथा च्याङ्ग्रा भित्रिने चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दिपक थापाले बताएका छन् । उनकाअनुसार खसीबोका च्याङ्ग्राको कारोबार मात्रै करिब २ अर्ब रुपैंया बराबरहुने अनुमान छ ।

 

दशैंमा नेपाल राष्ट्र बैंकले राजधानीमा मात्रै करिब २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने आनुमान छ । यस बाहेक उपत्यका बाहिरका अन्य शाखाबाट पनि नयाँ नोट उत्तिकै मात्रामा साटिन्छ । यसरी दशैंलाई नजिकैबाट नियालेका अर्थविज्ञ तथा अर्थशास्त्रीहरु दशैं, तिहार तथा छठजस्तो पर्वले समग्र अर्थतन्त्र चलायमान मात्र नबनाएर त्यसलाई गाउँतिर समेत बगाउँने बताउँछन् । उपभोग्य सामग्रीको व्यापक प्रयोगका कारण यस अवधिमा अर्थतन्त्र पनि उपभोगमा आधारित हुने उनीहरुको ठम्याई छ ।

 

आयको स्रोत बढेसँगै नेपलीहरु उपभोगको संस्कृतितर्फ उन्मुख भएको देखिन्छ । पछिल्लो समय दशैं, तिहारमा चल सम्पत्ती जोड्नेदेखि घुमघाममा रमाउने संस्कृति बढ्न थालेको छ । घर र देशबाहिर रहेकाहरु चाडपर्व मनाउन फर्किने पुराना चलनलाई सपरिवार घुम्न निस्किने संस्कृतिले विस्थापित गर्न थालेको देखिन्छ ।

 

दशैं र तिहारलाई लक्षित गर्दै व्यवसायिहरुले भदौदेखि नै वस्तु तथा सामाग्रीको आयात शुरु गर्दछन् । चालु आवको पछिल्लो दुई महिना अर्थात साउन र भदौंमा मात्रै नेपालले २ खर्ब ३३ अर्ब रुपैंया बराबरको विविध वस्तु तथा सामाग्रीहरु आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । नेपाली अर्थतन्त्र व्यापारमुखि बन्दै गएको कारण त्यस्ता आयातीत् सामान उत्पादन प्रयोगका लागि नभई उपभोगका लागि हुने गरेका छन् ।

 

लत्ताकपडा व्यवसायीहरुले दशैं तिहारमा कपडाको व्यापार वार्षिक कारोबारको ४० प्रतिशतभन्दा बढी गर्ने बताउँछन् । साथै यस चाडपर्वको समय मदिराको खपत समेत उच्चतम रुपमा बढ्ने गरेको छ । यसपालि दशैं तिहारलाई लक्ष्य गरी साढे दुई महिनाको अबधिमा बीरगन्ज नाकाबाट मात्रै ३ अर्ब रुपैयाँ बराबरको मदिरा र इनर्जी ड्रिङ्स तेस्रो मुलुकबाट नेपाल भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

 

विगतमा नेपाली आफैंले गरेको उत्पादनको लेनदनमा दशैं सीमित हुने गर्दथ्यो । दशैंकै लागि भनेर कृषि उपज र खसी बोका पहिलेदेखि नै तयार पार्ने चलन थियो । तर अहिलेको परिस्थित बदलिएको छ । आयको स्रोत बढेसँगै नेपलीहरु उपभोगको संस्कृतितर्फ उन्मुख भएको देखिन्छ । पछिल्लो समय दशैं, तिहारमा चल सम्पत्ती जोड्नेदेखि घुमघाममा रमाउने संस्कृति बढ्न थालेको छ । घर र देशबाहिर रहेकाहरु चाडपर्व मनाउन फर्किने पुराना चलनलाई सपरिवार घुम्न निस्किने संस्कृतिले विस्थापित गर्न थालेको देखिन्छ ।

 

 

लामो छुट्टी सदुपयोग गर्दै प्रतिव्यक्ति लाख रुपैयाँसम्म खर्च गरेर नेपालीहरु सिंगापुर, मलेसिया, बैंकक, थाइल्यान्डजस्ता गन्तव्यमा घुम्न निस्कने पछिल्लो समय निकै बढेको छ । यो पछिल्लो फेरिदो जीवनशैली भएको अर्थशास्त्री आचर्यको भनाइ छ । ‘खासगरी हुनेखाने वर्गका लागि विदेश भ्रमण संस्कृतिको रुपमा परिवर्तन हुदै गएको उनको ठम्याई छ । यसरी ट्राभल तथा टुर एजेन्सीहरुले पनि यही मौकामा भ्रमणका विभिन्न स्किम ल्याउने गरेका छन् । आन्तरिक उडानतर्फको जहाजको टिकट नपाएको भन्दै यात्रुहरुको गुनासो पनि उत्तिकै हुने गरेको छ ।

 

दशैं, तिहारका यस्ता नयाँ आयामलाई वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिट्यान्सले पनि सहयोग पुर्याएको छ । रेमिट्यान्स, तलबलगायत शीर्षकमा यस समयमा २२ अर्बबढी रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिने गरेको राष्ट्र बैंकले बताउदै आएको छ। त्यस्तै महालेखा नियन्त्रकको कार्यालयका अनुसार दशैंलगायत चाडपर्वमा सरकारी कर्मचारी (निजामति, सेना र प्रहरी) ले मात्र ७ अर्ब रुपैयाँ बढी पेश्की बुझ्ने गरेका छन् ।

 

त्यस्तै जीवनस्तर सर्वेक्षणले देशका ५६ प्रतिशत घरघुरीले रेमिट्यान्स भित्राउँने गरेको उल्लेख गरेको छ। रेमिट्यान्सका रुपमा भित्रिने रकममध्ये दैनिक उपभोगको लागि नै लगभग २४ प्रतिशत खर्च हुने गरेको छ भने २४.३ प्रतिशत भने ऋण तिर्नमा प्रयोग हुने गरेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार आव २०७५/७६ मा कुल ८ खर्ब ८० अर्ब रुपैंया बराबरको रेमिट्यान्स नेपाल भित्रेको थियो, जसमध्ये दशैं तथा तिहारलाई लक्षित गर्दै २ खर्ब ४४ अर्ब रुपैंया रहेको थियो । यसरी हरेक वर्ष रेमिट्यान्सको रकम बढ्दै गएको तथ्याङ्कले स्पष्ट पारेको छ ।

 

अर्थशास्त्रीहरुले भनेझैं दशैंमा चल सम्पत्ती जोड्ने परिपाटी पनि बढेर गएको छ । गाडी व्यवसायीहरुले दशैंलाई लक्षित गर्दै भदौदेखि नै नाडा अटो शोको रुपमा गाडी मेलाको आयोजना गर्नेदेखि दशैंमा विभिन्न छुट योजनाहरु सर्बजनिक गर्ने एक प्रकारको परम्परा नै चलेको छ । त्यस्तै,अटोमोबाइल व्यवसायीहरुकाअनुसार वर्षभरि हुने कुल सवारीको कारोबारमध्ये करिब ३० प्रतिशत दशैंकै बेला हुने गरेको बताउँछन् । सस्तोदेखि महंगो, नगददेखि किस्ताबन्दीमा ग्राहकहरुले गाडी खरिद गर्ने गरेको देखिन्छ अटो व्यवसायीहरु बताउँछन् ।

 

यसरी दशैंमा दैनिक उपभोग्य सामाग्रीदेखि गाडी भाडादर, हवाई भाडादरलगायत प्राय सबै वस्तुको मूल्य महंगिने र कालोबजारी मौलाउने प्रवृति पनि निकै नै बढ्ने गर्दछ । यसप्रकारको कुरिती र मूल्यवृद्धिलाई कम गर्नुको सट्टा झनै बढावा दिने गरेको पाइन्छ । नियन्त्रणका लागि निकै प्रयास गरेतापनि अन्य महिनाको तुलनामा दशैंजस्ता चाडपर्वमा मूल्यवृद्धि उच्च हुने सरकारी तथ्यांकले नै देखाउँछ । राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि असोजमा महँगी १० प्रतिशतसम्म महंगी वृद्धि हुने गरेको छ ।

Shiva Shree Hydro Power IPO Read Previous

Shiva Shree Hydro Power IPO

अब साँझ ६ बजेदेखि ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न पाइने Read Next

अब साँझ ६ बजेदेखि ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न पाइने