प्रतिघण्टा १०० को स्पीडमा गाडी गुडाउन मिल्ने गरी कमला-पथलैया ४ लेन सडकको डिजाइन

" ३ ठाउँमा'सिग्नेचर'सहित ७६ पुल बन्ने "

काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने भएको छ ।

विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक विभागले जनाएको छ ।

सो सडक चार लेनमा विस्तार गर्न लागिएको भए पनि सहरी क्षेत्रमा दायाँबायाँ दुवैतर्फ ‘सर्भिस लेन’ थप एकएक लेनमा निर्माण गरिने र विभिन्न स्थानमा सवारीसाधनका लागि ‘अण्डर पास’ तथा ‘ओभर पास’ निर्माण तथा जनावरका लागि सडक पार गर्न संरचना बनाइने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए।

उनले भने, ‘झण्डै आठ ठाउँमा जनावरका लागि पास बनाइने गरी डिजाइन भइरहेको छ ।’ वातावरणीय अध्ययन तथा सर्वेक्षणको काम सम्पन्न भएर सडक तथा पुलहरु डिजाइन भइरहेको छ ।

जम्मा १३० किमी लम्बाइको सडकमा झण्डै ७६ पुल निर्माण हुने भएको छ । वाग्मती, बकैया र कमला खोलामा गरी तीन स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने भएको छ । डिजाइनमा नै सवारीसाधन १०० किमी प्रतिघण्टाका दरले गुड्ने गरी र कतिपय स्थानमा ७५ किमी गुड्नसक्ने छ ।

सडक विस्तारका लागि जग्गा अधिग्रहण गर्न नपर्ने भएपनि कतिपय स्थानमा भइरहेका संरचना हटाउनुपर्ने हुनसक्ने महानिर्देशक थापाले बताए । उनले भने, ‘केही पसल र घरका थोरै संरचना हटाउनुपर्ने हुनसक्छ ।’ उक्त सडक सन् २०२७ सम्ममा निर्माण गरिने अनुमान गरिएको र यसको लागत अनुमान रु ६४ अर्ब रहेको छ ।

सरकारले पूर्वपश्चिम राजमार्गको सबै खण्ड चार लेनमा विस्तार गर्ने गरी प्रक्रिया अघि बढाएको छ । कतिपय खण्डमा निर्माण अघि बढी सकेको छ भने कतिपय प्रक्रियामा रहेको छ ।

विस्तार भइरहेका सबै खण्डमा सहरी क्षेत्रमा ‘सर्भिस लेन’ निर्माण गर्ने गरी डिजाइन भएको छ । आरक्षण क्षेत्र आसपासका क्षेत्रमा जनावरमैत्री सडक निर्माण गरिने भएको छ ।

नेपालले पाकिस्तानलाई पठायो २२ टन सहायता सामग्री Read Previous

नेपालले पाकिस्तानलाई पठायो २२ टन सहायता सामग्री

अघि बढ्यो ८ वर्षदेखि अलपत्र तीनकुने आर्क ब्रिज निर्माण Read Next

अघि बढ्यो ८ वर्षदेखि अलपत्र तीनकुने आर्क ब्रिज निर्माण