काठमाडौं । दशैं अघिको कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । कारोबार रकममा खासै सुधार हुन नसकेपनि सूचक भने करिब ९ अंकले उकालो लागेको छ । दशैंलाई हरियालीले स्वागत गरेपछि लगानीकर्ता उत्साहित भएका छन् ।
सेयर बजार मापक सूचक नेप्से ८.६९ अंकले बढेर ११४९.४० विन्दुमा पुगेको छ । आज १५३ कम्पनीको १७ करोड ६६ लाख ३३ हजार ५१४ रुपैयाँको कारोबार भएको छ । ६ लाख ४७ हजार ५६२ कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका १५३ कम्पनीमध्ये ११० कम्पनीको सेयर मूल्य घटेको छ । २३ कम्पनीको सेयर मूल्य घटेको छ भने २० कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार भएका ११ वटा समूहमध्ये फाइनान्स बाहेक अरु सबै समूहको सूचक बढेका छन् । आज उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै ८३.१५ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ६.१५ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा सोल्टी होटलको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड १३ लाख ९९ हजार २०० रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा सिद्धार्थ बैंक र शिबम सिमेन्टको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । सिद्धाथको १ करोड ५५ लाख र शिबमको ९२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज युनिलिभर नेपाल कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यूनाइटेड फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ९.३१ प्रतिशतले घटेको छ ।