चुनावमा नेपाल प्रहरीलाई ८ अर्ब बजेट, म्यादीले मात्रै पाउँदैछन् झण्डै ६ अर्ब

काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई ७ अर्ब ९९ करोड ४९ लाख २०० बजेट प्राप्त भएको छ ।

नेपाल प्रहरीका लागि रु १ अर्ब २३ करोड ५० लाख ९९ हजार २०० तथा म्यादी प्रहरीका लागि रु ५ अर्ब, ८६ करोड, ३९ लाख ५० हजार बजेट छुट्याइएको हो । उक्त बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

उक्त निर्वाचनका लागि ७१ हजार ६९३ प्रहरी कर्मचारी र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । यसपटक स्थानीय तहको निर्वाचनमा भन्दा २५ हजार बढी नेपाल प्रहरी तथा म्यादी प्रहरी थप गरिने भएको हो । जसमा १५ हजार म्यादी प्रहरी थपिने छन् ।

निर्वाचनका समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् । उक्त भत्ता सिपहीका हकमा प्रतिव्यक्ति प्रतिदिन रु १ हजार २०० हुनेछ । अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ । उनीहरूले निर्वाचनको मुख्य चार दिन प्रतिदिन ३०० रुपैयाँका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन् ।

नेपाल प्रहरीले निर्वाचन प्रयोजनार्थ कुल १८० वटा गाडी (सवारीसाधन) खरिद गर्ने भएको छ । प्रहरीले निर्वाचनका लागि कुल १ हजार ४९४ सवारीसाधन माग गरेको थियो । अर्थ मत्रालयबाट गाडी खरिदका लागि रु ७५ करोड बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ । प्रहरीले बढीमा रु ५० लाखसम्मका गाडी खरिद गर्न पाउनेछ । सोही आधारमा १८० वटा गाडी खरिद गर्न लागिएको डीआइजी थापाले जानकारी दिए ।

निर्वाचनमा कुल २ हजार ७९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको छ । निर्वाचनको १२ दिनका लागि एक हजार ५० गाडी भाडामा लिन स्वीकृत प्राप्त भएको छ । भाडाका लागि प्रतिदिन रु १० हजार रकम छुट्याइएको छ ।

बाँकी अपुग गाडी मर्मत गरेर चलाइनेछ । सबै निर्वाचन सुरक्षा योजनाअनुसार परिचालन हुने भएकाले थपघट हुनसक्ने थापाले जानकारी दिए । यसपालि प्रहरीले १० हजार लठ्ठी खरिद गर्दैछ । प्रतिलठ्ठी रु २०० का दरले खरिद गर्ने जनाइएको छ ।

प्रहरीले ७०० बढी सञ्चार सेट तथा आवश्यक हातहतियारको माग गरे पनि उपलब्ध नहुने भएपछि हतियार बहालगिरीमा प्रयोग गर्ने भएको छ । हाल चालु रहेका सेटसहित अपुग भएमा मोबाइलबाटै सञ्चार सेटको काम गरिने छ ।

म्यादी प्रहरीको तलब झण्डै ५० हजार

सरकारले आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । यसअघि स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

उनीहरूका लागि कुल रु ५ अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन भएको छ । कुल ४० दिनका लागि तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर झण्डै रु ५० हजार हाराहारी तलब प्राप्त गर्र्नेछन् । यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ ।

म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा रु ४९ हजार २६० तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ ।

म्यादी प्रहरीले तलब मात्रै रु ३४ हजार सात सय ६० प्राप्त गर्नेछन् । त्यसका अलावा रासनवापत रु सात हजार २०० पाउने छन् । तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्र्ने हुँदा केही थपिने छ । पोशाकका लागि रु छ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले (ज्याकेट खरिद) मा रु १ हजार थप पाउनेछन् । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ ।

यस्तै आवतजावत भाडा खर्च रु एक हजार दिइनेछ । खाजा खर्च चार दिनको प्रतिदिन रु तीन सयका दरले पाउनेछन् । यो खर्च भने सबै प्रहरीले पाउनेछन् । म्यादी प्रहरीका लागि मापदण्ड तय हुँदैछ । आगामी असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

मतदानस्थल र मतदाता थपिएकाले सुरक्षाकर्मी थप

मतदानस्थल, मतदान केन्द्र र मतदातासमेत थपिने भएकाले यो पटक म्यादी प्रहरीसहित झण्डै २५ हजार प्रहरी कर्मचारी थप परिचालन गर्न लागिएको छ । नेपाल प्रहरीतर्फ १० हजार र म्यादीतर्फ १५ हजार बढाउन लागिएको हो ।

समानुपातिक निर्वाचनसमेत हुने भएको र कारागारका कैदीबन्दीले समेत मताधिकार प्रयोग गर्न पाउने भएपछि म्यादी प्रहरीसँगै अन्य प्रहरी कर्मचारीसमेत थप गरिएको हो । यसपालि झण्डै पाँच लाख मतदाता थपिने अनुमान गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने हुन्छ । त्यसैले सुरक्षाकर्मी बढाउनुपर्ने आवश्यकता रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक राईले जानकारी दिए । यसअघि भर्ना भएका म्यादी प्रहरी, पूर्वसुरक्षाकर्मीलाई नै यसपटक पनि प्राथमिकता दिने पनि उनले जानकारी दिए ।

निर्वाचनको तयारीस्वरूप नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।

अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएर आएसँगै केन्द्रीय सुरक्षा योजना निर्माणमा गृह मन्त्रालय जुटेको छ । यसअघि गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल, प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरी कार्य अघि बढाइएको छ ।

कोरियाबाट नेपालमा लगानी भित्र्याउन चेम्बरको आग्रह Read Previous

कोरियाबाट नेपालमा लगानी भित्र्याउन चेम्बरको आग्रह

अब नेपाल बैंकबाट आइपीओ भर्दा शुल्क नलाग्ने Read Next

अब नेपाल बैंकबाट आइपीओ भर्दा शुल्क नलाग्ने