घरजग्गा कारोबारीको रोजाइ तराई, यी हुन् धेरै किनबेच भएका १० ठाउँ

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार ओराला लागेपनि तराईका क्षेत्रहरूमा भने रोकिएको छैन् । बढ्दो सहरीकरण, मूल्यवृद्धि, आवास निमार्णको तीव्र चाहाना र बसाईसराइ गर्ने क्रम बढेसँगै तराई इलाकामा घरजग्गा व्यवसाय फस्टाएको हो ।

संघीय राजधानी समेत रहेको उपत्यका क्षेत्रमा बाक्लो आवास, मूल्य उच्च हुनुका साथै खाली जग्गा नपाइने भएपछि सहरउन्मूख जिल्लाहरूमा मानिसहरूले घरजग्गा खरिद गर्ने प्रचलन बढेको देखिन्छ ।

सरकारले गत जेठ मसान्तमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएसँगै घरजग्गा व्यवसायमा उच्च गिरावट आएको थियो । भूमी व्यवस्था मन्त्रालयले जारी गरेको भूउपयोग नियमावली अनुसार जग्गाको कित्ताकाटका लागि वर्गिकरण नगरुन्जेलसम्म स्थानीय तहबाट जग्गा वर्गिकरणको सिफारीस आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

सरकारले खेतीयोग्य जमीनको खण्डीकरण रोक्नका लागि कित्ताकाट गर्नुपूर्व सो जमिन कृषियोग्य वा गैरकृषि क्षेत्र हो भन्ने छुट्याउनुपर्ने नियमावलीले व्यवस्था गरेको हो ।

जसअनुसार स्थानीय तहहरूले हालसम्म जमीनको वर्गीकरण गर्न सकेका छैनन् । मन्त्रालयले स्थानीय तहलाई गठन गरिएको भूउपयोग परिषद मार्फत २३ मंसिरसम्म जग्गाको वर्गिकरण गरिसक्न भनेको छ ।

गत वर्षदेखि बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव, नेपाल राष्ट्र बैंकको कडाइ तथा सरकारको आफ्नै नियमका कारण घरजग्गा कारोबारमा गिरावट आएको व्यवसायीहरू बताउँछन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो साउनमा ३३ हजार घरजग्गा किनबेच भएको छ भने ९८ हजार कुल कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा त्यसको दोब्बर कारोबार र किनबेच भएको थियो । अघिल्लो साउनमा ७५ हजार किनबेच तथा ११ लाख ९० हजार कुल कारोबार भएको विभागको तथ्यांक छ ।

जसको तुलनाका चालु वर्षमा ५५ प्रतिशत बढीले किनबेच घटेको छ । अघिल्लो असारको तुलनमा पनि घरजग्गा किनबेचमा साउन महिनामा १४ हजारले गिरावट आएको छ ।

कारोबारसँगै राजस्व पनि निकै घटेको विभागको तथ्यांकले देखाउँछ । गत साउनमा सरकारले कुल कारोबार वापत २ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यी हुन् कारोबार मौलाएका जिल्ला

गत साउनमा सबैभन्दा धेरै घरजग्गा किनबेच हुने जिल्लामा मोरङ रहेको छ । १ नम्बर प्रदेशकाे राजधानी समेत रहेको यस जिल्लाका रङगेली,विराटनगर र बेलवारी मालपोत कार्यालयगरी कुल २३०५ घरजग्गा किनबेच भएको छ ।

यसैगरी, सुनसरी दोस्रो धेरै घरजग्गा किनबेच हुने ठाउँमा रहेको छ । धरान मालपोत कार्यालय र इनरुवा गरेर १८५६ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । दाङमा पनि गत महिना १८ सय बढी घरजग्गा किनबेच भएको मालपोत कार्यालयहरूको तथ्यांक छ ।

काठमाडौं उपत्यकामा गत महिना १६५५ घरजग्गा किनबेच भएको छ । झापा सर्वाधिक घरजग्गा किनबेच हुने जिल्लामै रहेको छ । यस जिल्लामा गत महिना १५ सय बढी किनबेच भएको छ ।

लगातार किनबेचको शीर्ष स्थानमा रहँदै आएका यी जिल्लाहरूमा घरजग्गा व्यवसायको सट्टा पट्टा निकै मौलाएको जानकारहर बताउँछन् । विचौलीयाको सक्रियताका कारण एकातिर जग्गाको खण्डीकरण र मूल्य बढेको छ भने अर्कोतर्फ सरकारले राजस्वको ठूलो हिस्सा गुमाएको छ ।

यसैगरी, चितवन, धनुषा, बाँक,बारा, ललितपुर, भक्तपुर, सप्तरी, सिराहा, कपिलवस्तु, महोत्तरी,रुपन्देही लगायतका सहरउन्मूख जिल्लाहरूमा घरजग्गा किनबेच मौलाएको देखिन्छ ।

किन मौलायो तराईमा घरजग्गा किनबेच ?

संविधानले देशलाई ७ प्रदेशमा विभाजन गरेको छ भने प्रदेश संरचना कार्यान्वयनमा आएर दोस्रो निर्वाचनको मिति घोषणा भइसकेको छ । जसअनुसार अधिकांश प्रदेशका राजधानीहरू तराईका जिल्लाहरूमा छन् ।

उत्पादकत्वको हिसाबले उर्बर भूमी र सेवा सुविधा तथा सहरीकरणको दृष्टिकोषबाट सम्पन्न बन्ने बाटोमा अग्रसर यी क्षेत्र मानिसको रोजाइमा परे । जसको कारण तिव्र मूल्यवृद्धिको प्रवाह नगरी खण्डीकरण गरेर घरेडी निमार्णको संस्कार नै चलेको छ ।

मुख्य सहरहरू विराटनगर, झापा, सुनसरी, धरान, इटहरी, जनकपुर, महोत्तरी, बुटवल, चितवन, लुम्बिनी, वीरगञ्ज, नेपालगञ्ज, दाङ, धनगढी लगायतका क्षेत्रहरूमा सेवा सुविधाको पहुँच र पूर्वाधार निमार्णका साथै मानिसको बसाइसराइँ बढ्दो छ ।

सोही कारण यी क्षेत्रहरूमा घरजग्गाको माग उच्च छ भने कारोबार पनि त्यही रफ्तारमा भइरहेको छ । पूर्वाधार र सेवा सुविधाको खोजिमा मानिसहरू तराई क्षेत्रमा सर्नेक्रम बढेसँगै घरजग्गा कारोबार मौलाएको व्यवसायीहरू बताउँछन् । अर्कोतर्फ भूमाफीयाको सट्टेबाजीका कारण घरजग्गाको किनबेचका साथै मूल्य बढेको बताइन्छ ।

 

मर्जर/प्राप्तिमा गएका कम्पनीको लागतको भारित औसत गणना कसरी गर्ने ? Read Previous

मर्जर/प्राप्तिमा गएका कम्पनीको लागतको भारित औसत गणना कसरी गर्ने ?

विश्व बैंकले नेपाललाई १३ अर्ब सहुलियत ऋण दिने Read Next

विश्व बैंकले नेपाललाई १३ अर्ब सहुलियत ऋण दिने