नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीसँगै जोडिएको उत्तर प्रदेशको नोएडामा अनधिकृत रुपमा बनाइएको ३२ तले ट्विन टावरलाई ध्वस्त बनाइएको छ । उक्त भवन आइतबार त्यहाँको प्रशासनले स्थानीय समय अनुसार अपराह्न २ः१५ मिनेटमा बम विष्फोट गरी ध्वस्त बनाएको हो ।
१०३ मिटर उचाइ भएका ३२ तलाका दुई अग्ला भवनलाई आधुनिक प्रवधिको प्रयोग गरेर ९ सकेन्डमै पूर्ण रुपमा भत्काइएको छ । भवन रहेको क्षेत्रको आकाश धुलोले ढाकिएको थियो ।
ट्वीन टावर भत्काउने क्रममा भवनमा ९८०० प्वाल पारेर हरेक प्वालमा १४०० ग्राम विष्फोटक बारुद राखिएको थियो । बिल्डिङ भत्काउन ३७०० किलो विष्फोटक पद्धार्थ प्रयोग गरिएको जनाइएको छ ।
उक्त भवनलाई ध्वस्त बनाउन १७ करोड ५५ लाख खर्च गरिएको छ । उक्त खर्च अवैध रुपमा भवन बनाएको सुपर टेक कम्पनीबाटै असुल गरिनेछ । भवन ध्वस्त पारेपछि ८० हजार टनको धुलोको पहाड बनेको आकलन गरिएको छ भने त्यसलाई सफाइ गर्न ३ महिना लाग्ने बताइएको छ ।
Following the orders of the apex court, today the Supertech twin towers located in Sector 93A in Noida were demolished after ensuring stringent safety protocols. #TwinTowers pic.twitter.com/4N8Ujz96XT
— Pankaj Singh (@PankajSinghBJP) August 28, 2022
उत्तर प्रदेशमा पर्ने नोएडाको ९३ सेक्टरमा सुपरटेक कम्पनीले अनुमति पाएको भन्दा फरक ढंगलले उक्त दुवै बिल्डिङको निर्माण गरेको थियो ।
सन् २००४ मा नोएडाका अधिकारीहरूले सुपरटेक हाउजिङलाई १० तलाको १४ वटा टावर बनाउने अनमुति दिएको थियो । सुपरटेकले अनुमति विपरीत सन् २००९ मा २४ तलाको दुईवटा बिल्डिङ निर्माण गरेको थियो । फेरि सन् २०१२ मा त्यसलाई ४० तलाको बनाउने गरी निर्माण अघि बढाएको थियो भने ३२ तलासम्म निर्माण भइसकेको थियो ।
मापदण्ड विपरीत निर्माण गरिएको भन्दै उजुरी परेपछि भारतको इलाहावाद उच्च अदालतले सन् २०१४ मै उक्त दुवै भवनलाई अवैध घोषणा गरी भत्काउने आदेश दिएको थियो । त्यस्तै, सन् २०२१ को अगस्टमा सर्वोच्चले अदालतले उच्च अदालतको आदेश अनुसार नै भवनलाई भत्काउने आदेश दियो ।एजेन्सी