काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत सबै लघुवित्तहरुले गत आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
नेप्सेमा सूचीकृत ५६ मध्ये ९ लघुवित्तले भने नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) फरम्याटमा वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सबै लघुवित्तलाई एनएफआरएस अनिवार्य नगरे पनि केही थोक तथा खुद्रा कारोबार गर्ने राष्ट्रियस्तरका लघुवित्तहरुले भने एनएफआरएस अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।
एनएफआरएस अनुसार विवरण सार्वजनिक गर्दा कम्पनीहरुको वितरणयोग्य नाफा पनि रिपोर्टमा उल्लेख गरिएको हुन्छ । सोही वितरण योग्य नाफाका आधारमा कुन कम्पनीले सेयरधनीलाई कति लाभांश दिन सक्छन् भन्ने आकलन गर्न सकिन्छ ।
यद्यपि, वितरणयोग्य नाफा जति त्यो सबै लाभांशमा बाँड्नै पर्छ भन्ने छैन । कम्पनीहरुले सो नाफा थप/घट गरेर समेत लाभांश बाँड्न सक्छन् ।
नेप्सेमा सूचीकृत लघुवित्तमध्ये ९ वटा लघुवित्तहरुको चुक्ता पूँजी १ अर्ब माथि छ । जसमा ४ वटा थो कर्जा प्रदायक र ५ राष्ट्रिय स्तरका लघुवित्त रहेका छन् । यिनलाई चुक्ता पूँजीका आधारमा बजारका ठूला लघुवित्त मानिन्छ ।
१ अर्ब माथि चुक्ता पूँजी रहेका ९ लघुवित्तमध्ये ६ वटाले एनएफआरएस ढाँचामा वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा उनीहरुले सेयरधनीलाई बाँड्न मिल्ने रकम उल्लेख गरिएको छ ।
जसअनुसार निर्धन उत्थानको लाभांश क्षमता सबैभन्दा धेरै रहेको छ । गत वर्ष ८० करोड २० लाख रुपैयाँ वितरण योग्य नाफा रहेको निर्धनले सेयरधनीलाई ३६.५४ प्रतिशतसम्म लाभांश दिन सक्छ ।
त्यसैगरी, ४१ करोड ७२ लाख वितरण योग्य नाफा रहेको डिप्रोक्स लघुवित्त ३६.०९, ४४ करोड ५५ लाख रुपैयाँ रहेका आरएमडीसीले ३५.९० प्रतिशत लाभांश् दिने क्षमता राख्दछ ।
त्यस्तै, गत वर्षको नाफाबाट ७६ करोड ४३ लाख रुपैयाँ सेयरधनीलाई छुट्याएको छिमेकले ३२.८९, ४३ करोड ८८ लाख रहेको साना किसानले २८.०५ र २६ करोड ७ लाख वितरण योग्य नाफा रहेको मेरो माइक्रोफाइनान्सको २१.७३ प्रतिशत लाभांश दिन सक्छ ।