उद्घाटन भएको डेढ वर्षसम्म पनि सकिएन धरहरा पुनर्निर्माण, अझै २०% काम बाँकी

"फेरि म्याद थप्नुपर्ने"

काठमाडौं । निर्माण पूरा नहुँदै उद्घाटन गरिएको धरहरा दोस्रोपटक थपिएको म्यादमा पनि निर्माण सम्मन्न नहुने देखिएको छ । अन्तिमपटक थपिएको म्याद सकिन ४ महिना मात्र बाँकी रहे पनि अझै २० प्रतिशत काम बाँकी छ ।

करिब ६० प्रतिशत मात्र काम पूरा भएको अवस्थामै पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले २०७८ वैशाख १२ गते धरहराको उद्घाटन गरेका थिए । उद्घाटन गरिएको झन्डै डेढ बिते पनि अझै निर्माण सम्पन्न हुन नसकेको हो

आयोजनाका अनुसार हालसम्म ८० प्रतिशत काम पूरा भएको छ । २०७५ साल पुस १२ गते निर्माण सुरू भएको धरहरा २ पटक म्याद थपिदा समेत सम्पन्न हुन सकेको छैन । सुरूमा धरहराको पुननिर्माण २०७७ साल कात्तिक मसान्तसम्ममा सक्ने लक्ष्य सहित सुरू भएको थियो ।

तर, कोभिड, कामदार अभाव लगायत कारणले निर्माणले गति लिन सकेन । जस कारण धरहरा पुनर्निर्माण पूरा गर्नका लागि २०७८ पुस १० गतेसम्मका लागि म्याद थपिएको थियो । त्यसपछि हाल आएर म्याद थप गरी यसको निर्माण अवधि २०७९ पुस मसान्तसम्म पर सारिएको छ । जुन अवधिमा समेत धरहरा निर्माण कार्य सम्पन्न हुने सम्भावना कम छ ।

अयोजना सहसचिव कोशनाथ अधिकारी निर्माण व्यवसायीलाई धेरै समय दिँदा काम नगर्ने भएकाले थोरै समय दिएर प्रेसरमा निर्माण गराइरहेको बताए ।‘१ वर्ष समय दियो भने १ महिना केही गर्दैनन्, त्यसैले पुससम्म समय दिएका छाैं, सकिन भने समय थप्दैनौँ भनेका छाैं, यति गर्दा त उसले अलि काम प्रभावकारी गर्ला भन्ने उद्देश्य हो,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।

धरहरा निर्माणको अवधि सकिन अब ४ महिना मात्र बाँकी रहेको छ । हालसम्म धरहरा निर्माणका क्रममा ८० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । उनका अनुसार पछिल्लो समय विशेष गरी संग्रहालय निर्माणको काम भइरहेको छ । यूटिलिटी व्यवस्थापनमा भने विद्युतीय तार र खानेपानीका कारण समस्या कायमै छ । उनले खाने पानी एकै पटक काट्दा सर्वसाधरणलाई समस्या हुने भन्दै त्यस विषयमा विकल्प खोजिरहेको बताए ।

उनले यूटिलिटी प्लग बनाउने कामको समाधान हुन नसकेको बताए । विगतमा गरेर स्थानमा १८ हजार केबल लाईनमा गडबडी भएको कारणले सर्वसाधरणलाई समस्यामा नपारी समाधान निकाल्ने प्रयास भइरहेको बताए ।

‘पहिला केबल निकाल्न खोज्दा १८ हजर केबल लाइन प्रभावित भएको थियो, अब फेरि ठाउँ सारेका छाैं, त्यहाँ खानेपानी सर्वसाधरणले प्रयोग गरिरहेका छन्, सिधै बन्द गर्दा सर्वसाधरणलाई असर पर्ने भयो,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।

वित्तीय तर्फ भने ६५ प्रतिशत प्रगति भएको आयोजनाका सहसचिव कोशनाथ अधिकारीले बताए । धरहरा निर्माण ३ अर्ब ४८ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता थियो भने त्यसमध्ये ६५ प्रतिशत भुक्तानी भइसकेको छ ।

यस्तै पार्किङमा लिफ्टको लागि निर्माण व्यवसायीले २८ करोडको सामान अर्डर गरिसकेको उनले बताए । एलसी हातमा नपरे पनि निर्माण व्यवसायीले सामान अडर भई ल्याउने क्रममा रहेको जानकारी आफूले पाएको बताए ।

यस्तै धरहरामा बन्ने संग्राहलयमा खासै प्रगति छैन । संग्राहलयको डिजाइन उपलब्ध गराएर पनि निर्माण हुन धेरै समय लाग्ने उनले बताए । ६५ करोडको लगानीमा बन्न लागेको हो । पुनर्निर्माण प्राधिकरणले १२ वैशाखमा भत्किएको धरहराको ठुटोलाई सिसाले छोपेर म्युजिएमको रूपमा प्रयोग गर्नेगरी संचालनमा ल्याउने जनाएको छ । हाल बनेको धरहरा पहिलाको भन्दा १० मिटर पर रहेको छ ।

धरहरा निर्माण भइसकेपनि धरहरा वरिपरी निर्माण गर्न बाँकी रहेको सौन्दर्यकरण तथा मण्डला पोण्ड, वाटर फाउनटेन लगायतका सामग्री निर्माण गर्न बाँकी रहेको हो ।

५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । यहाँ सबैले सशुल्क पार्किङको सुविधा पाउनेछन् । पार्किङकमा एक पटकमा चार पाङ्ग्रे गाडी ३४७ वटा र कम्तीमा ७ सय मोटरसाइकल अट्नेछन् ।

 

नेपालमै 'साइलेज'को व्यवसायिक उत्पादन, पशुआहारका लागि पोषिलो Read Previous

नेपालमै 'साइलेज'को व्यवसायिक उत्पादन, पशुआहारका लागि पोषिलो

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाइनान्स बीच सम्झौता Read Next

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाइनान्स बीच सम्झौता