१२ वर्षमा पनि सकिएन कालीगण्डकी कोरिडोर, अब कति बाँकी छ काम ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १२ वर्षमा पनि पूरा हुन सकेको छैन ।

आर्थिक वर्ष २०६६/६७ देखि निर्माण सुरू भएको यस सडक ठेकेदारको ढिलासुस्ती, कामदार अभाव, भौगोलिक कठिनाइ, कोरोना लगायत कारणले अझै सम्पन्न हुन नसकेको हो ।

उत्तर दक्षिणमा चीन नेपाल जोड्न व्यापारिक मार्गको रूपमा विस्तार भइरहेको यस आयोजनाले सोचे जस्तो गति लिन सकेको छैन ।यस आयोजना अन्तर्गत ‘गैंडाकोट–राम्दी–मालढुंगा र बेनी जोमसोम–कोरला खण्ड जोड्ने गरी दुई खण्डमा काम भइरहेको छ ।

कालीगण्डकी कोरिडोर आयोजनाका अनुसार गैंडाकोट–मालगढुंगा खण्डमा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस्तै, जोमसोम खण्डमा ७१ प्रतिशत भौतिक प्रगति भएको छ । कुल ४४७ किलोमिटर लम्बाइ रहेको यस आयोजनामा हालसम्म १३७ किालोमिटर सडक मात्र कालोपत्र भएको हो ।

यो आयोजना वि.सं. २०६६/६७ मा सुरू गरिएको थियो । हाल यो आयोजनाको म्याद २०८२/०८३ सम्मका लागि थपिएको छ ।

यस आयोजनाको कुल लागत ३० अर्ब ५७ करोड रुपैयाँ रहेको छ । गैंडाकोट–मालढुंगा खण्डको लागत २० अर्ब २२ करोड रुपैयाँ रहेकोमा १० अर्ब हाराहारी खर्च भइसकेको छ । सो अनुसार यस खण्डको खर्च कुल लागतको ३० प्रतिशत मात्र रहेको हो । २४५ किलोमिटर लम्बाइ रहेको गैंडाकोट खण्डमा हालसम्म १० वटा ठेक्का लागेको छ । यस खण्डमा १७ वटा पुल निर्माण गर्नुपर्नेमा ५ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ ।

गैंडाकोट–राम्दी–मालढुंगा सडक आयोजना प्रमुख कल्पना अधिकारीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न आयोजना लागि परेको बताइन् । उनले थप ३ वर्ष समय बाँकी रहेकाले समयमा सम्पन्न गर्न निर्माण व्यवसायीसँग ताकेता भइरहेको बताइन् ।

बेनी–जोमसोम–कोरला खण्ड विस्तार लागत १० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यस खण्डमा हालसम्म बजेटको ५ अर्ब ८४ करोड रुपैयाँ खर्च भइसकेको छ । यस अनुसार यस खण्डमा कुल बजेटको ६९ प्रतिशत रकम खर्च भएको आयोजनाले जनाएको छ ।

२०२ किलोमिटर लम्बाइ रहेको यस खण्डमा १४ वटा ठेक्का लगाइ काम भइरहेको छ । बेनीतर्फ ३८ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ५ वटा सम्पन्न भई १६ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । १९ वटा पुलको डिजाइन तयारी भइरहेको जोमसोम–कोरला सडक योजना जोमसोम प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

यस्तै,सडक विभागका महानिर्देशक अर्जुन जंग थापाले भने यस आयोजनामा निर्माण अझै सुस्त रहे ठेक्का तोड्न सक्ने बताए । उनले आयोजना निर्माण भइरहेको ठाउँको ढुंगा, गिट्टीलगायत सामानको समस्या रहेको बताए ।

सम्झौता अनुसार निर्माण खण्डमा पर्ने खोलाहरूबाट आयोजनाले ढुंगा गिट्टी निकाले पनि कालीगण्डीबाट निकाल्न नपाउँदा कामले गति लिन नसकेको उनको भनाइ छ ।

 

स्वास्थ्य बीमाका लागि सरकारले दियो करिब २१ अर्ब भुक्तानी Read Previous

स्वास्थ्य बीमाका लागि सरकारले दियो करिब २१ अर्ब भुक्तानी

टानको नयाँ कार्यसमित निर्वाचित, अध्यक्षमा बाँस्तोला विजयी Read Next

टानको नयाँ कार्यसमित निर्वाचित, अध्यक्षमा बाँस्तोला विजयी