काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाने क्रम बढेको छ । मर्जर प्रक्रिया सकिन कम्तीमा ६ देखि ९ महिना लाग्ने गरेको छ । मर्जर सम्पन्न भई एकीकृत कारोबार नहुन्जेल सेयर कारोबार रोक्का हुने गरेको छ । जसले लगानीकर्ताको अर्बौंको सम्पत्ति लामो समय बन्धक बन्ने गरेको छ ।
यसै समस्यालाई मध्येनजर गर्दै नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्वीजिसनमा गएका कम्पनीको सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने व्यवस्था गर्न लागेको छ ।
बोर्डले सार्वजनिक गरेको संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।
उक्त निर्देशिका जस्ताको तस्तै पारित भएका अब मर्जर तथा एक्वीजिसनमा जाने संस्थाहरुको साधरण सेयर बढीमा १५ दिन मात्र रोक्का हुनेछ । एकीकृत कारोबार सुरु नहुन्जेलसम्म रोक्का रहने व्यवस्था खारेज हुनेछ ।
यद्यपि, बोर्डले आधारभूत सेयरको हकमा भने मर्जर तथा एक्विजिसनका लागि कम्पनीहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि साधारणसभाले पारित नगर्दासम्म सेयर कारोबार रोक्का हुने व्यवस्था निर्देशिकामा गरेको छ ।तर आधारभूत सेयरधनी हुन तोकिएभन्दा कम सेयर लगानी रहेकाले भने मर्जर प्रक्रिया सुरु भएपछि पनि कारोबार गर्न पाउनेछन् ।
मस्यौदामा गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायत कामका लागि यसरी बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था गरिएको छ ।
‘एकीकृत व्यावसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायतका कामका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘सूचीकृत संगठित संस्थाले मर्जरका लागि प्रारम्भिक समझदारी भएपछि धितोपत्र बजारले गाभ्ने गाभिने वा लक्षित संगठित संस्थाका आधारभूत सेयरधनीको कारोबार साधारणसभा सम्पन्न नभएसम्म रोक्का राख्नुपर्नेछ ।’
संगठित संस्थाका लागि बोर्डले पहिलो पटक मर्जर तथा एक्विजिसनसम्बन्धी निर्देशिका जारी गरेको हो ।