निजी क्षेत्रको हालसम्मकै ठूलो हाइड्रो बनाइरहेको साहस ऊर्जाको नाफा ३०% वृद्धि, ईपीएस कति ?

काठमाडौं । साहस ऊर्जा लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा २९.७९ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म कम्पनीले ७१ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ करोड रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो वर्ष कम्पनीले ५५ करोड ११ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको आयोजना निर्माणधीन अवस्थामै रहेकाले विद्युत् विक्रीबाट आम्दानी नभए पनि अन्य आम्दानीमा वृद्धि हुँदा खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा कम्पनीले सर्भिस कन्सेसन एग्रिमेन्ट अन्तर्गत ४ अर्ब ७२ करोड ५२ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षमा यस्तो आम्दानी ३ अर्ब ४८ करोड रुपैयाँ थियो ।

यस्तै, कम्पनीको संचालन मुनाफा १६ करोड बढेर ७१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संचालन मुनाफा ५५ करोड ११ लाख रुपैयाँ थियो ।

हाल ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब २ करोड रुपैयाँ संचिति छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.४४ रुपैयाँ छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १५७.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.५१ गुणा रहेको छ ।

कम्पनीले हाल सोलुखुम्बुमा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो निजी क्षेत्रले निर्माण गरिरहेको हालसम्मकै ठूलो क्षमताको आयोजना हो ।

यस आयोजनाको लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जसअनुसार प्रति मेगावाट लागत साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । यसलाई तुलनात्मक रुपमा प्रतिमेगावाट लागत सस्तो मानिन्छ ।आयोजनामा नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा १० बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।

वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । जसबाट आयोजनाले वर्षायाममा १ अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरी वार्षिक २ अर्ब ८६ करोड रुपैयाँको विद्युत विक्री गर्नेछ ।

सेनाले जिम्मा लिएका ५ सडक : फास्ट ट्रयाकको बल्ल २१% काम पूरा, अरूको यस्तो छ अवस्था Read Previous

सेनाले जिम्मा लिएका ५ सडक : फास्ट ट्रयाकको बल्ल २१% काम पूरा, अरूको यस्तो छ अवस्था

काठमाडौंको ३ पालिकामा नयाँ सहर बनाउने प्रस्ताव क्याबिनेटमा Read Next

काठमाडौंको ३ पालिकामा नयाँ सहर बनाउने प्रस्ताव क्याबिनेटमा