मुग्लिन-पोखरा सडक विस्तारले लिएन गति, पश्चिम खण्डको प्रगति १ प्रतिशतभन्दा कम

काठमाडौं । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार सुस्त भएको छ । काम सुरू भएको झन्डै १ वर्ष हुन लागे पनि हालसम्म ५.८९ प्रतिशत मात्र काम पूरा भएको हो ।

दुवै खण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाएका छन् । सडक विभागका अनुसार हालसम्म जामुने–पोखरा (पश्चिम खण्ड)मा हालसम्म ०.८९ प्रतिशत र अबुखैरेनी-ज्यामिरे (पूर्वी खण्ड)को ५ प्रतिशत काम पूरा भएको छ ।हाल दुवै खण्डमा रुख कटानको काम भइरहेको छ ।

एशियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेन बनाउन अहिले काम भइरहेको छ ।

८२ किलोमिटर लामो यस सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा र जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा विभाजन गरिएको छ ।

सडक विभागका महानिर्देशक अर्जुन जंग थापाका अनुसार यस आयोजना अन्तर्गत कामलाई गति लिन निर्माण व्यवसायीलाई दबाबा दिने काम भइरहेको छ ।‘अहिले ९ महिना भयो काम सुरू भएको अझै २ वर्ष बाँकी नै छ, तोकिएको समयमा काम पुरा गर्नलाई बारम्बार पहल गरिरहेका छाैं,’ उनले भने ।

मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको पूर्व खण्डमा आबुखैरेनी–जामुने खण्डको सडक विस्तारको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । चिनियाँ कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ लाख रुपैयाँ लागतमा उक्त सडक खण्डको ठेक्का जिम्मा लिएको हो । ४३ किलोमिटर लम्बाइको ठेक्का हो ।

यसमा ४ लेनको सडक बन्ने छ । बजारमा बस्ती विकास भएका ठाउँमा अतिरिक्त दुई लेन बनाइने छ । यस खण्डको निर्माण अवधि ३ वर्ष रहेको छ । निर्माण सुरू भएको अहिले ९ महिना भइसकेको छ । कम्पनीले निर्माण सकेको १ वर्ष मर्मत गर्नुपर्नेछ भने बाँकी ५ वर्ष सडक मर्मतसंभार निर्माण कम्पनीले नै गर्नुपर्दछ ।

यसरी निर्माण सकेको ६ वर्ष कम्पनीले देश छोडेर जान पाउने छैन । यस्तो हुँदा उसले मर्मत गर्नुपर्ने र लामो समय नेपालमै बस्नु पर्ने भएकाले राम्रो काम गर्छ भन्ने अपेक्षा गरिएको छ ।

यस्तै, जामुनेदेखि पोखरासम्म ३९ किलोमिटर लम्बाइको यो खण्डको ठेक्का अनहुई काईयूअन हाइवे एण्ड ब्रिज कम्पनी लिमिटेडले पाएको छ । यस आयोजनामा साना ठूला गरी १४ वटा पुल निर्माण गर्नुपर्नेछ । ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ लागतमा बन्दै गरेको यस आयोजना निर्माणका लागि १५ प्रतिशत सुरूको लागत भुक्तानी गरिसकेको छ । यस आयोजनाका लागि ६.०४ प्रतिशत रकम भुक्तानी गरिएको सडक विभागले जनाएको छ ।

मुग्लिन पोखरा २ लेनको यस सडकलाई चार लेनकाे बनाइँदै छ ।  घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ। विस्तारित सडक दुवैतर्फ ७/७ मिटरको हुनेछ । एउटा लेन साढे तीन मिटर लामो हुन्छ । मुख्य सडकलाई एकअर्काबाट छुट्ट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ । आकष्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ । सडकको दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुन्छ । ढल व्यवस्थापन गर्न दुवैतर्फ दुई मिटर छुट्ट्याइएको हुन्छ । पैदल यात्रुका लागि एक/एक मिटरको फुटपाथ हुन्छ ।

 

७५० मेगावाटको पश्चिम सेतीको समझदारीपत्र स्वीकृत, माथिल्लो मस्र्याङ्दी-२ ले पायो सर्भेक्षण अनुमति Read Previous

७५० मेगावाटको पश्चिम सेतीको समझदारीपत्र स्वीकृत, माथिल्लो मस्र्याङ्दी-२ ले पायो सर्भेक्षण अनुमति

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा