काठमाडौं । दुबईबाट खाद्यन्न सामग्री (मुङको दाल) भनेर ल्याइएको कन्टेनरमा विदेशी ब्रान्डका चुरोट बरामद भएको घटना प्रकरणमा भन्सार कार्यालयले आयातकर्ता कम्पनी कालिका इन्टरप्राइजेज प्रालिलाई रु १० करोड ७२ लाख जरिवाना तोकेको छ ।
दुबईबाट भारतसम्म पानी जहाजमा र भारतको कोलकोत्ताबाट रेलमार्ग हुँदै मुङको दाल भनेर सुक्खा बन्दरगाहमा वीरगञ्जसम्म ल्याइएको (जीइएसयू ५०४८८०३४५ जी१) नम्बरको कन्टेनरमा गत जेठ १३ मा शङ्का लागि जाँच गर्दा उक्त ठूलो परिमाणमा विदेशी ब्रान्डको चुरोट फेला परेको थियो ।
दालको कन्टेनरभित्र चुरोट आयात गर्ने कम्पनी काठमाडौँ टोखाको कालिका इन्टरप्राइजेज प्रालिका सञ्चालक काठमाडौँ टोखाका नवराज गिरीलाई भन्सार ऐन अनुसार नक्कली मालसामान घोषणा गरेबापत बिगो जरिवाना रु रु १० करोड ७२ लाख जरिवाना तोकिएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए ।
कन्टेनर जाँच्दा २६ हजार ६१० किलो दाल घोषणा गरिएको कन्टेनरमा १४ हजार ८२५ किलो मात्र दाल थियो । यसबाहेक ५८ लाख ३८ हजार चार सय खिल्लीका ४०० कार्टुन विदेशी चुरोट भएको फेला परेको थियो । उक्त बिगो जरिवाना बापतको रकम तिरेपछि सो कम्पनीले माल लैजान पाउने कार्यालयले जनाएको छ ।
अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढ्नेछ । कार्यालयका अनुसार बन्दरगाह नाकामा विभिन्न मालसामान भित्र्याउने तीन वटा फरक–फरक रङ्को लेन हुन्छ । उक्त कन्टेनर पहेँलो लेनबाट आएको थियो ।
कन्टेनरको अगाडि र पछाडिको भागमा मुङ दालको बोरा र बीचमा भने चुरोटका कार्टुन राखेको भेटिएको थियो । कन्टेनरबाट इन्डोनेसियन ब्रान्ड गुडाङ गरम र बेलायती ब्रान्ड मोन्ड भेरियन्सका चुरोट फेला परेको थियो ।
भन्सार ऐनको दफा ५७ अनुसार घोषणा गरिएको वस्तु र परिमाण फरक भेटिएकोले नियमानुसार बिगो जरिवाना गरिएको र नियमानुसार कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयका अनुसन्धान अधिकृत भूपेन्द्र कार्कीले जानकारी दिए ।
यसरी जरिवाना गरिएपछि भन्सार कार्यालयले कम्पनी सञ्चालक गिरी (धादिङ) र भन्सार एजेन्ट नीरञ्जन घिमिरे (मकवानपुर)लाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरिसकेको छ । उनीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयमा लेखिपठाइएकोे पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।