नारायणगढ-बुटवल सडक : म्याद सकिँदा जम्मा १८% काम पूरा, ठेक्का तोड्ने चेतावनी

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तारको काम कछुवाको गतिमा अघि बढेको छ । ३ वर्षभित्र सम्पन्न गर्नेगरी २०७५ चैतदेखि विस्तार सुरू गरिएको उक्त सडक ठेक्का अवधि सकिँदासम्म जम्मा १८ प्रतिशत काम सम्पन्न भएको हो ।

कोरोनाको बाहनामा निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सनले काममा ढिलाइ गर्दा सडक विस्तारले गति लिन नसकेको हो । आयोजनाको म्याद यही साउन २२ गते सकिँदै छ ।

११३ किलोमिटर लामो यस सडकखण्डलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । काम सम्पन्न गर्नुपर्ने समयमा हालसम्म रुख कटान समेत सकिएको छैन । दुवै खण्डमा गरी हालसम्म जम्मा २८ किलोमिटर सडक मात्र ग्राभेल गरिएको छ । अन्य स्थानहरूमा सडक खनेर अलपत्र पारिएको छ ।

आयोजनाको पूर्वीखण्ड (नारायणगढ-दाउन्ने) चाइना स्टेट कन्सट्क्सन इन्जिनीयरिङ कर्पोरेसनले ९ अर्ब १३ करोड रुपैयाँ लगानीमा ठेक्का पाएको थियो । २०१८ डिसेम्बर १९ मा ठेक्का सम्झौता भई ठेक्का पाएको उक्त कम्पनीले २०१९ फ्रेब्रुअरी ७ बाट मात्र आयोजनाको फिल्डमा काम सुरू गरेको थियो ।

आयोजनाको म्याद २०२२ अगस्ट ७ गतेसम्मका लागि मात्र थियो । उक्त म्याद सकेपछि कोभिडका कारण काम गर्न नसकेकोमा १ वर्ष म्याद थप भई थप १ वर्ष काम गर्न पाउने व्यवस्था गरिएको छ । जस अनुरूप हाल निर्माण कम्पनीले काम गरिरहेको छ । उक्त खण्डमा कुल ६४.४ किलोमिटर लम्बाइ रहेको छ । जसमा शहरी क्षेत्रमा १७.६ किलोमिटर, गैरशहरी क्षेत्रमा ४२.७ किलोमिटर, दाउन्ने सेक्सनमा ४.१ किलोमिटर र बक्स कल्भर्ट २१४ वटा रहेको छ ।

पूर्वी खण्डमा १७.७३ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीयतर्फ १५.१७ प्रतिशत यानी १ अर्ब ३८ करोड रुपैयाँ खर्च भइसकेको छ । यस खण्ड अन्तर्गत २१५ वटा कल्भर्ट मध्ये १३१ वटा कल्भर्ट सम्पन्न भएको छ । २२ वटा मधये १५ वटा माइनल पुल निर्माण पूरा भएको आयोजनाले जनाएको छ । १२ वटा मधये १० वटा मुख्य पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने २ वटाको निर्माण पूरा भएको छ ।

यस्तै, पश्चिमखण्ड (दाउन्ने–बुटवल) सोही कम्पनीले ७ अर्ब ८६ करोड रुपैयाँ भ्याटसहित ठेक्का पाएको छ । सो खण्डमा १९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस खण्डमा वित्तीयतर्फ १०.७१ प्रतिशत अर्थात् ८९ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ ।

यस खण्डमा १२० कल्र्भट मध्ये ७९ वटा कल्भर्ट सम्पन्न गरिएको छ । २१ वटा साना पुल मध्ये १३ वटा पुल सम्पन्न गरिएको आयोजनाले जनाएको छ । यस खण्डमा पर्ने ९ वटामध्ये ६ वटा मुख्य पुलहरू निर्माणाधीन अवस्थामा रहेका छन् भने ३ वटा पुल निर्माण पूरा भइसकेको छ ।

यस खण्डमा कुल ४८.५ किलोमिटर लम्बाइमा काम भइरहेको छ । सोमध्ये शहरी क्षेत्रमा ११.६ किलोमिटर पर्छ । गैरशहरी क्षेत्रमा २७ किलोमिटर पर्छ भने दाउन्ने सेक्सनमा ९.९ किलोमिटर सडक विस्तार गर्नुपर्नेछ । यस खण्डमा कुल ३० वटा पुलहरू रहेका छन् भने २२८ वटा कल्भर्ट रहेका छन् ।

नारायणघाट–बुटवल खण्ड अन्तर्गत २०२१ मा कुल ७ प्रतिशत सडक विस्तार गर्ने लक्ष्य रहेको थियो । तर, उक्त आवमा २.४१ प्रतिशत मात्र काम भएको थियो । २०२२ मा २३ प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य रहेकोमा जम्मा ८.६४ प्रतिशत भौतिक प्रगति भएको थियो । यसरी राखिएकोभन्दा धेरै न्यून प्रतिशत मात्र भौतिक प्रगति हुन थाले पछि मन्त्रालयले चिनियाँ कम्पनीलाई ठेक्का दिइराख्नु फाइदा हुन नसक्ने निष्कर्ष निकालेको हो ।

ठेक्का तोड्ने मन्त्रीको चेतावनी

३ वर्षमा मात्र १८ प्रतिशत भौतिक प्रगति भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले ठेक्का तोड्ने चेतावनी दिएका छन् । उनले अब पनि ठेकेदारले तीव्र गतिमा काम नगरे ठेक्का तोड्न बाध्य हुने बताए ।

‘नारायणघाट बुटवलमा काम धेरे सुस्त भएको हो, हामीले विदेशी ठेकेदार कम्पनी भएकाले पहिलो पटकमा वार्निङ दिएका छौं, भनेको मानेन र समयमा काम नसक्ने हो भने ठेक्का तोड्छौं भनेर धम्काएका छौं,’ मन्त्री राईले भने ‘भनेको टेरेन भने ठेक्का रद्द गरेर आफ्नै लगानीमा भए पनि बनाउँछौं ।’

आयोजना निर्देशक शुशिलबाबु ढकाले ठेकेदारको लापरबाहीका कारण सडकहरू व्यवस्थित रूपमा निर्माण हुन नसकेको बताउँछन् । उनले ठेक्का तोडिए पनि धेरै चुनौती भएका कारण ठेक्का तोडिहाल्न धेरै सोच्नु परेको बताए ।

सडकमा चिनियाँ ठेकेदारले पहिलो चरणमा खन्ने काम गरे पनि त्यसलाई माटोले पुर्ने काम नगरी राखेको छ । जस कारण उक्त खण्डमा सडक यात्रा निकै जटिल बनेको स्थानीयहरूको गुनासो रहेको छ । ‘आयोजनामा ठाउँ–ठाउँमा खाल्टा बनाए पनि बेलैमा पुरेको छैन, त्यसले गर्दा कामले भने जति प्रगति गर्न सकेको छैन,’ ढकालले चाणक्य पोष्टसँग भने ।

२०७५ चैत्रमा चाइना स्टेट कन्स्ट्रक्सनलाई ठेक्का दिइएको यो आयोजनाको म्याद केही कारण बस थप १ वर्ष थपिएको उनले बताए । उक्त समयमा समेत निर्माण व्यवसायीले काम नगरे ठेक्का तोड्ने उनले बताए ।

आयोजना प्रमुख प्रदीपराज शाक्यले ७६ स्थानमा कल्भर्ट निर्माणको क्रममा धेरै खाल्डाखुल्डी भएको र विस्तार भएका ठाउँमा माटो पुर्न बाँकी भएकाले सडकमा सहजै सवारी साधन गुड्न सक्ने अवस्था नभएको बताए ।

‘हामीले ७६ स्थानमा कल्भर्ट खनिसकेको छौ, खनेको ठाउँमा माटोले पुर्न बाँकी छ, त्यसका लागि अझै समय लाग्ने देखिन्छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

 

हेटौंडा औद्योगिक क्षेत्रको भाडा १३३% वृद्धि, ४ वर्ष अघिदेखिको भुक्तानी गर्न पत्र Read Previous

हेटौंडा औद्योगिक क्षेत्रको भाडा १३३% वृद्धि, ४ वर्ष अघिदेखिको भुक्तानी गर्न पत्र

गण्डकी सरकारले सवारी करको जरिवाना घटायो, अब कति तिर्नुपर्छ ? Read Next

गण्डकी सरकारले सवारी करको जरिवाना घटायो, अब कति तिर्नुपर्छ ?