‘जलमार्ग’ बन्दै धोबीखोला कोरिडोर, ढल फुट्दा सडकमा पोखरी

काठमाडौं । काठमाडौँ महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ ।

ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

ढल फुटेर रुद्रमती (धोबीखोला) मा मिसिन थालेको छ । ढल जाम भएर घर–घरमा छिर्न थालेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरे । धोबीखोला कोरिडोर बनाउनुअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल विच्छ्याएको थियो ।

त्यसबेला गुणस्तरीय काम नभएकाले प्रत्येक वर्ष वर्षाद्का सयमा यो सडकमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । वडाध्यक्ष वीरेन्द्र प्रजापति कालोपुलसम्म ढल जाम हुँदा यस क्षेत्रमा समस्या भएको बताउँछन् । यस विषयमा अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनीयरलाई जानकारी गराएर स्थलगत रुपमा पनि देखाएको उनले जानकारी गराए ।

अधिकार सम्पन्न वाग्मतीलाई देखाएको एक हप्ता पूरा भए पनि समस्या समाधानका लागि कुनै पहल भने भएको छैन । अधिकार सम्पन्न वाग्मतीले दुई दिनसम्म प्राविधिकलाई समस्या समाधानका लागि खटाएको जनाएको छ ।

समितिका सूचना अधिकारी कमल अर्याल त्यस क्षेत्रमा भूमिगत गरिएको विद्युत्को लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको बताउँछन् । वर्षाद्मा खोलामा पस्न नसकिने र ढलमा बालुवा भरिएकाले पनि पानी बाहिर आएको उनले सुनाए ।

 

नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न सक्छ : गगन थापा Read Previous

नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न सक्छ : गगन थापा

४७ प्रतिशत बढ्यो नेपाल एयरलाइन्सको कमाइ, मासिक १ अर्ब आम्दानी Read Next

४७ प्रतिशत बढ्यो नेपाल एयरलाइन्सको कमाइ, मासिक १ अर्ब आम्दानी