काठमाडौं । पछिल्ला दिनहरुमा लगातार ओरालो लागेको बजारले आफ्नो लय कायमै राखेको छ । आज सूचक घटेपनि कारोबार रकममा भने झिनो सुधार देखिएको छ । गतहप्ताका दिनहरुमा औसतमा २० करोडको हाराहारीमा कारोबार भइरहेको बजारमा आइतबार २४ करोडभन्दा बढीको कारोबार भएको छ ।
सेयर बजार मापक सूचक नेप्से ४.६६ अंकले घटेर ११२५.१४ विन्दुमा आइपुगेको छ । आज १५६ कम्पनीको २४ करोड १४ लाख ९८ हजार ५५४ रुपैयाँको कारोबार भएको छ । ९ लाख २४ हजार १९० कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका ११ वटा समूहमध्येमा दुई समूहबाहेक बाँकी नौ वटा समूहको सूचक ओरालो लागेका छन् ।आज अन्य र विकास बैंक समूहको सूचक सामान्य अंकले बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ६३.९७ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि ४.४४ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड ३६ लाख २४ हजार ३०८ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा सानिमा बैंक र बैंक अफ काठमान्डूको प्रमोटर सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । सानिमाको २ करोड ५६ लाख र बैंक अफ काठमान्डूको २ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ३.७७ प्रतिशतले बढेके छ भने हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.०३ प्रतिशतले घटेको छ ।