हुलाकी राजमार्ग : निर्माण अवधि सकिनै लाग्दा समेत लागेन ठेक्का, अझै ३०% काम बाँकी

काठमाडौं । निर्माण सुरु भएको झन्डै डेढ दशक बित्न लागे पनि राष्ट्रिय गौरव आयोजना अन्तर्गत रहेको हुलाकी राजमार्ग निर्माण सम्पन्न हुन सकेको छैन ।

आर्थिक वर्ष २०६६/६७ देखि निर्माण सुरु गरिएको यो राजमार्ग बजेट अभाव, कामदार अभाव, ठेकेदारको लापारवाही, रुख कटानमा ढिलाइ लगायत कारणले अझै सम्पन्न हुन नसकेको हो ।

पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण सीमावर्ती क्षेत्रबाट समानान्तर रूपमा चल्ने यो राजमार्गले पूर्व झापाको केचनाकवललाई पश्चिम कञ्चनपुरको चाँदनी दोधारासँग जोड्ने छ । हुलाकी राजमार्ग निर्माणका क्रममा हालसम्म ७० प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको सडक विभागले जनाएको छ । अझै ३० प्रतिशत काम सम्पन्न हुन बाँकी छ ।

कुल १ हजार ७९२.४२ किलोमिट लामो सडकखण्ड निर्माण तथा स्तरोनन्ती भइरहेको यस आयोजनामा हालसम्म ६८६ किलोमिटर हाराहारी सडक कालोपत्र भएको सडक विभागले जनाएको छ ।२१० किलोमिटर हाराहारीमा सडक ग्राभेलको काम सम्पन्न भएको छ ।

यस आयोजना अन्तर्गत २१९ पुल निर्माण गर्नु पर्ने छ । हालसम्म १०३ वटा हाराहारीमा पुल निर्माण सम्पन्न भएको छ । उक्त आयोजना प्रारम्भिक लागत ४७ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको थियो । संशोधित लागत रकम ६५ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा हुलाकी राजमार्गको ३०० किलोमिटर कालोपत्र र २४ वटा पूलको निर्माण कार्य सम्पन्न गर्नुका लागि ६ अर्ब ७ करोड विनियोजन गरिएको छ । उक्त लागतभित्र ६७ वटा थप पुलको निर्माण कार्य समेत सुरू गरिने जनाइएको छ ।

अझै ठेक्का लाग्नै बाँकी

अन्तर्राष्ट्रिय मुद्राकोषको ऋण परिचालन गरी २०६६ मा सुरु गरिएको यो आयोजना कहिले सम्पन्न हुने अझै टुंगो लाग्न सकेको छैन । हुलाकी राजमार्ग आयोजना २०७९/८० सालसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाभित्रको कामले सोचे जस्तो गति लिन सकेको छैन म्याद सकिन १ वर्ष मात्र बाँकी हुँदा यस आयोजनाका धेरै खण्डमा अझै ठेक्का लाग्न बाँकी नै रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै सडकको रेखाङ्कन भएकाले आयोजनाले वातावरणीय अध्ययन सकेर पटकपटक अनुमति मागे पनि पाएको थिएन । चितवन जिल्लामा २३ किमी र नवलपरासी जिल्लामा ६५ गरी झन्डै ८८ किमी निकुञ्जभित्र पर्छ । विश्व सम्पदा क्षेत्रमा त्यसको मापदण्डका आधारमा मात्रै पूर्वाधार निर्माण गर्न पाउने व्यवस्था छ । त्यसका लागि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहमति चाहिन्छ ।

आयोजनाअन्तर्गत झन्डै ७० पुलको डिजाइन बाँकी छ । अहिलेसम्म १०३ पुल मात्रै सम्पन्न भएको छ । रेखाङ्कनमा समस्या भएको बाहेकको खण्डमा सडक सम्पन्न भए पनि पुल अबको डेढ वर्षमा सम्पन्न गर्न नसकिने आयोजनाले जनाएको छ ।

 

नेपालमा पुल निर्माणका लागि कम्तीमा दुईदेखि साढे दुई वर्षसम्म लाग्ने गरेको छ । सडकतर्फ झन्डै १ हजार किमीमा कालोपत्र बाँकी छ ।

 

हुलाकी राजमार्ग र ‘फिडर सडक’ दुबै दुई/दुई लेनमा निर्माण अघि बढाइएको छ । सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ । जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो ।

अब गुड्ने मिनी अस्पताल ! Read Previous

अब गुड्ने मिनी अस्पताल !

एनसीसी बैंकको ‘प्रफुल्ल मुद्दती खाता योजना’, निक्षेपको १० गुणासम्म रकम पाइने Read Next

एनसीसी बैंकको ‘प्रफुल्ल मुद्दती खाता योजना’, निक्षेपको १० गुणासम्म रकम पाइने