घरजग्गा कारोबारको ‘हटस्पट’ तराई, यी हुन् गत वर्ष धेरै किनबेच भएका १० ठाउँ

काठमाडौं । सहरी तथा तराईका क्षेत्रहरु घरजग्गा किनबेचको केन्द्र बनेका छन् । तीव्र रुपमा भइरहेको जनसंख्या र मूल्य वृद्धिका बाबजूद देशका मुख्य सहरहरुमा घरजग्गा कारोबार मौलाएको हो ।

सबैभन्दा धेरै संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यका क्षेत्रमा धेरै घरजग्गा किनबेच भएको सरकारी तथ्यांक छ । यी सहरहरुपछि तराई इलाकामा कारोबार र किनबेच निकै बढेको छ ।

छोटो समयमा विना जोखीम धेरै आम्दानी गर्न सकिने भएकाले घरजग्गा कारोबारको सट्टेबाजी गर्नेहरुको जालो नै बनेको छ । जसले मुख्य सहर तथा सहर उन्मूख क्षेत्रमा घरजग्गा किन्ने र बेच्ने धन्दा गरिरहेका छन् ।

यसले एकातिर जग्गाको खण्डीकरण बढाएको छ भने अर्कोतर्फ मूल्य वृद्धि तथा ठूलो धनराशी अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । जसको कारण पनि तराई इलाका घरजग्गा किनबेचको हटस्पट बनेको देखिन्छ ।

गत आर्थिक वर्षमा काठमाडौंपछि सबैभन्दा धेरै घरजग्गा किनबेच हुनेमा तराई क्षेत्रका झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन, बाँके, लगायतका जिल्ला छन् ।

सेवा सुविधा र रोजगारीको खोजीमा सहरी इलाकामा बसाइँ सर्नेक्रम बढ्नु तथा संघीयता कार्यान्वयनपछि प्रदेश राजधानी तोकिएसँगै यस्ता क्षेत्रहरुमा घरजग्गा कारोबार तिव्र रुपमा बढिरहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको तीव्र कर्जा लगानी, जग्गाको सट्टेबाजी र प्लटिङले कारोबार र मूल्य वृद्धि भएको छ ।

निरन्तरको मूल्यवृद्धि तथा यस्ता क्षेत्रमा गरिएको लगानीेको आयस्रोत खोजिदैन भन्ने मानिसको सोचाइका कारण किनबेच बढ्दै गएको देखिन्छ । साथै, पछिल्लो समय हुन्डी, क्रिप्टोकरेन्सी लगायतबाट आएको पैसा समेत घरजग्गामा लगानी हुन थालेको बताइन्छ । यसले समेत कारोबार बढाउन सहयोग पुगेको जानकारहरु बताउँछन् ।

राष्ट्र बैंकले घरजग्गामा कर्जा लगानी गर्न बैंकहरूलाई कडाइ गरे पनि किनबेच र लगानीको क्रम बढ्दो छ ।

प्रदेशहरूमा सहरीकरण, सस्तो पूर्वाधार विकास,औद्योगीकरण, रोजगारीका अवसर, सडक पूर्वाधारको सुविधाले आकषर्ण बढेको व्यवसायीहरू बताउँछन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षमा कुल ७ लाख ४५ हजार घरजग्गा किनबेच भएको छ भने १८ लाख १४ हजार कारोबार भएकोे छ ।

अघिल्लो वर्ष ७ लाख ५० हजार घरजग्गा किनबेच र कुल कारोबार १५ लाख १३ हजार भएको थियो ।

सबैभन्दा धेरै घरजग्गा किनबेच भएका १० ठाउँ

गत आवमा सबैभन्दा घरजग्गा किनबेचको हटस्पट संघीय राजधानी काठमाडौँ बनेको छ । काठमाडौंको डिल्लीबजार, साँखु,चाबहील, टोखा, कलंकी र मनमैजुगरी कुल ५६ हजार ३६७ घरजग्गा किनबेच भएको हो ।

उपत्यकापछि तराईको जिल्ला मोरङमा ५२ हजार १११ घरजग्गा किनबेच भएका छन् । जिल्लाको विराटनगर रंगेली, बेलवारी मालपोत कार्यालयबाट उक्त घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।

यसैगरी तेस्रो सर्वाधिक घरजग्गा किनबेच सुनसरीमा भएको छ । यस अवधिमा सुनसरीमा ४० हजार ७५४ घरजग्गा किनबेच भएका थिए ।

यस अवधिमा झापा जिल्लामा दमक र भद्रपुर मालपोत कार्यालयगरी कुल ४० हजार ६६१ घरजग्गा किनबेच भएका छन् ।

चितवनको खैरहनी, माडी, चनौली गरेर २८ हजार ८००, जनकपुरको धनुषा मालपोत कार्यालय मार्फत २६ हजार ५३८ घरजग्गा किनबेच भएको छ ।

बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट २४ हजार २५२ ,बाराको कलेया र सीमराबाट २० हजार ३२९, ललितपुरको गोटिखेल र लगनखेलबाट २३ हजार ४४३, र भक्तपुरमा २२ हजार ८९८ घरजग्गा किनबेच भएका छन् ।

 कुन महिनामा कति घरजग्गा किनबेच ?

देशभर कुल साढे सात लाख घरजग्गा किनबेच भएका मध्ये साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा किनबेच भएको तथ्यांक छ ।

विभागका अनुसार वैशाखमा सबैभन्दा कम ४४ हजार ८०३ किनबेच भएको थियो । फागुनमा दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा लिखत पारित भएको थियो ।

त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८ र माघमा ५९ हजार ५१६ चैतमा ७० हजार ८२९ घरजग्गा खरिद विक्री भएको थियो ।

जेठमा ५४ हजार ५१४ र असारमा ४७ हजार २८ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

माैद्रिक नीतिकाे सन्देश : कर्जा विस्तारभन्दा सदुपयाेग जरूरी, यस्ताे छ बैंकर मनाेज ज्ञवालीकाे विश्लेषण Read Previous

माैद्रिक नीतिकाे सन्देश : कर्जा विस्तारभन्दा सदुपयाेग जरूरी, यस्ताे छ बैंकर मनाेज ज्ञवालीकाे विश्लेषण

श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन