काठमाडौं । पछिल्लो सयमा जलविद्युत्मा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । सरकारका साथै निजी क्षेत्रका व्यवसायीहरुले पनि धमाधम हाइड्रोपावरमा लगानी गरिरहेका छन् ।
एकपटक लगानी गरिसकेपछि निरन्तर आम्दानी हुने, उत्पादित बिजुली खेर गए पनि सम्झौता अनुसार पैसा आउने, नेपालमा खपत नभए विदेशसम्म निर्यात गर्न सक्ने लगायत कारणले हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढेको हो । साथै, सरकारले जलविद्युत्मा लगानी गर्नेलाई विभिन्न सहुलियत तथा छुट दिएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन् ।
हाल निजी लगानीका १२० बढी हाइड्रोपावर निर्माणधीन अवस्थामा रहेका छन् भने सरकारी लगानीका आधा दर्जन आयोजना निर्माण भइरहेका छन् । नेपाल प्राधिकरणका अनुसार हाल निर्माणधीन आयोजना सम्पन्न भएमा सन् २०२४ सम्ममा थप ३ हजार मेगावाट विद्युत् उत्पादन हुनेछ । हाल करिब २२०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा हाइड्रोपावरमा १ खर्ब ७० अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत वर्ष ४९ वटा ऊर्जासम्बन्धी कम्पनी दर्ता भएका छन् । ती कम्पनीले कुल १ हजार ५६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन् । ती कम्पनीहरुले जलविद्युत् र सोलारबाट विद्युत् उत्पादन गर्ने जनाएका छन् ।
गत वर्षमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ कोभन्दा १९ वटा बढी ऊर्जासम्बन्धी उद्योग दर्ता भएका हुन् । सो आवमा ३० वटा कम्पनी दर्ता भएका थिए भने १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
कुन कम्पनीले कहाँ बनाउँदै छन् हाइड्रोपावर ?
गत वर्ष दर्ता भएका ४९ कम्पनीले देशका विभिन्न ठाउँमा हाइड्रोपावर, सोलार र चुम्मकीय प्रविधिबाट विद्युत् उत्पादन गर्ने भएका छन् । मनाङमा बुटवल पावर कम्पनी लिमिटेडले १ अर्ब २९ करोड रुपैयाँ लगानीमा ७.९ मेगावाटको हाइड्रोपावर निर्माण गर्ने भएको छ
कम्पनीले वार्षिक ४३.९९ गिगावाट विद्युत् विक्री गर्ने लक्ष्य साथ उक्त हाइड्रोपावर सञ्चालन गर्न लागेको हो । उक्त कम्पनीले वार्षिक ड्राइसिजनमा १३.३२ गिगावाट विद्युत् विक्री गर्ने योजना बनाएको छ भने फ्लोको मौसममा वार्षिक ३०.६६ गिगावाट विद्युत् उत्पादन गरी विक्री गर्ने लक्ष्य राखेको छ ।
यस्तै, बुटवल पावर कम्पनी लिमिटेडले १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । यसको लागत ३३ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
यस्तै, मनाङमा सिता हाइड्रोपावर कम्पनी प्रालिले दूध खोला जलविद्युत् आयोजनाबाट ६५ मेगावाट जलविद्युत् उत्पादन गर्ने भएको छ । १० अर्ब ४३ करोड रुपैयाँ लगानीमा बनाउन लागेको हो । दोलखामा सानिमा जुम हाइड्रोपावर लिमिटेडले १० अर्ब ५३ करोड रुपैयाँ लगानीमा ५६ मेगावाट, रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीको रघुगंगा नगरपालिकामा ४० मेगावाट, म्याग्दीमा ठूलो खोला हाइड्रोपावर प्रालिले २ अर्ब ५३ करोड रुपैयाँ लगानीमा १५ मेगावाटको हाइड्रोपावर निर्माण गर्ने भएको छ ।
यसैगरी, सिन्धुपाल्चोकमा ब्रह्रायणी हाइड्रोपावर कम्पनीले ५ अर्ब ९५ करोड रुपैयाँ लगानीमा ३५.४७ मेगावाट, इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले २ अर्ब ७८ करोड रुपैयाँ लगानीमा १५.१५ मेगावाटको जलविद्युत् अयोजना निर्माण गर्ने भएको हो ।
यस्तै, धादिङमा गणेश हिमाल हाइड्रोपावर प्रालिले ४ अर्ब २८ करोड रुपैयाँ लगानीमा २० मेगावाट, तनहुँमा मौलाकालिका हाइड्रोपावर प्रालिले ५ अर्ब ९६ करोड रुपैयाँ लगानीमा ३८.१६ मेगावाट, ताप्लेजुङमा सूर्य होल्डिङ्ेग प्रालिले ५ अर्ब ९६ करोड रुपैयाँ लगानीमा ३१.९२ मेगावाट, ताप्लेजुङ्गमै अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले ३ अर्ब १२ करोड रुपैयाँ लगानीमा १५ मेगावाट, संखुवासभामा ह्यापी इनर्जी प्रालिले ५ अर्ब ९५ करोड रुपैयाँ लगानीमा ४० मेगावाट, ओखलढुंगामा पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले आयु मलुन जलविद्युत् आयोजनाबाट २१ मेगावाट, ताप्लेजुङमा हिमाली हाइड्रोपावर फन्ड प्रालिले १ अर्ब ९० करोड रुपैयाँ ९ मेगावाटको हाइड्रोपावर निर्माण गर्ने भएको छ ।
यसैगरी, इलाममा वाटर इनर्जी सोलुसन प्रालिले १ अर्ब ६५ करोडमा ८.३ मेगावाट, दोलखामा कोप्लाङ्ग इनर्जी हाइड्रो पावर प्रालिले १ अर्ब २९ करोडमा ६.२ मेगावाट, संखुवासभामा मेन्छियम हाइड्रोपावर लिमिटेडले १ अर्ब ३० करोडमा ७.७ मेगावाट, कालिकोटमा रुरुगाड पावर कम्पनीले ४ अर्ब ३७ करोडमा २३.५ मेगावाट, ताप्लेजुङमा रिभरसाईड हाइड्रो इनर्जी प्रालिले ५ अर्ब ९५ करोडमा ३७.५ मेगावाट, सोलुखुम्बुमा युनियन हाइड्रोपावर लिमिटेडले ४ अर्ब ९५ करोडमा २८.९ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
यसैगरी, भोजपुरमा इष्र्टन इनर्जी प्रालीले २ अर्ब ७६ करोडमा १५ मेगावाट, धादिङमा हनुमान हाइड्रोपावर प्रालिले ३ अर्ब १७ करोडमा १९ मेगावाट, नुवाकोटको दुप्चेश्वरमा एबीपी इनर्जील ८ मेगावाट, बझाङको वित्थरडचिर नगरपालिकामा बागथला हाइड्रोपावर प्रालिले ८ मेगावाट, ओखलढुंगाको सुनकोशी गाउपालिकामा शुभारम्भ हाइड्रोपावर प्रालिले ६ मेगावाट, धादिङको रुबिभ्यालीमा हनुमान हाइड्रोपावरले ३ अर्ब लगानीमा १९ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
५ अर्ब ८८ करोडको सोलार आयोजना
गत वर्षमा सोलारबाट विद्युत् उत्पादनका लागि ५ अर्ब ८८ करोड रुपैयाँ लगानीका ८ कम्पनी दर्ता भएका छन् । ती कम्पनीहरुले सोलारबाट ६१.७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन् ।
सिराहामा इको सन पावर डेभलपमेन्ट प्रालिले ९६ करोड रुपैयाँ लगानीमा १० मेगावाट, ओखलढुंगामा शुभारम्भ हाइड्रोपावर प्रालिले १ अर्ब १७ करोड रुपैयाँ लगानीमा ६ मेगावाट, झापामा इष्ट सोलार प्रालिले ६० करोड लगानीमा ५ मेगावाट, पर्सामा तराई सोलार प्रालिले ५६ करोडमा ७.७ मेगावाट, कपिलवस्तुमा पशुपती रिन्यूएबलस प्रालिले ८८ करोडमा १० मेगावाट, कपिलवस्तुमा पोजेटिभ प्रालिले ९५ करोड रुपैयाँ लगानीमा १० मेगावाटको आयोजना निर्माण गर्ने भएको छ ।
यसैगरी, सर्लाहीमा इको घाम पावर कम्पनीले ८० करोडमा १० मेगावाट, बर्दियाको मधुवन नगरपालिकामा भारती लक्ष्मी इनर्जीले ९६ करोडमा १० मेगावाट, दाङको शान्तिनगरमा शुभम् नङयुआर प्रालिले ९२ करोडमा १० मेगावाटको सोलार आयोजना निर्माण गर्ने भएको छ ।
यस्तै, भरतपुरमा ईबीएम नेपाल प्रालिले चुम्मकीय प्रविधिबाट ५० मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । कम्पनीले यस आयोजनामा ५ अर्ब ५८ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।