काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी (पुष्पलाल) लोकमार्ग निर्माण सुरू भएको देड दशक बिते पनि अझै सम्पन्न हुन सकेको छैन ।
आर्थिक वर्ष २०६४/६५ मा सुरू भएको यो सडक निर्माण बजेट अभाव, ठेकेदारको लापरबाही, कामदार अभाव, रुख कटानमा ढिलाइ लगायत कारणले १५ वर्षमा पनि सम्पन्न हुन नसकेको हो ।
पहाडी क्षेत्रका २६ जिल्ला जोड्ने १८७९ किलोमिटर लामो यस सडक १५ वर्षमा करिब दुई तिहाई मात्र पूरा भएको छ । हालसम्म आयोजनाको करिब ६३ प्रतिशत काम सम्पन्न भएको छ भने अझै ३७ प्रतिशत काम बाँकी छ ।
आर्थिक वर्ष २०६४/६५ मा सुरू भएको यो आयोजना १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, आयोजना सुरू भएको १५ वर्ष बित्दा समेत अझै एकतिहाई बढी काम बाँकी छ ।
कुल १ हजार ८७९ किलोमिटर सडकमध्ये हालसम्म १ हजार १५६ किलोमिटर सडक कालोपत्र भएको सडक विभागले जनाएको छ । यसमध्ये ६९० किलोमिटर आयोजनाबाट निर्माण भएको हो भने ४६६ किलोमिटर अन्य निकायबाट निर्माण गरिएको हो । अझै ८०० किलोमिटर बढी सडक निर्माण गर्न बाँकी रहेको छ ।
सो आयोजना अन्तर्गतको १३७ पुलमध्ये हालसम्म ९३ वटा पुल निर्माण पूरा भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको यस आयोजनाका लागि सरकारले विश्व बैंकअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए) बाट ऋण लिएको छ ।
लागत तेब्बरले वृद्धि
समयमा निर्माण पूरा नहुँदा यस आयोजनाको लागत तेब्बरले वृद्धि भएको छ । सुरूमा यस आयोजनाको लागत ३३ अर्ब रुपैयाँ अनुमान गरिएकोमा हालसम्म आइपुग्दा लागत बढेर ८४ अर्ब बढी नाघेको छ ।
कामको गति हेर्दा अझै पनि यस सडक आयोजना पूरा हुन वर्षौं लाग्ने देखिएकाले लागत अझै बढ्ने देखिन्छ । यस आयोजनाका लागि हालसम्म ५५ अर्ब रुपैयाँ हाराहारीमा खर्च भइसकेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा यस सडकका लागि ६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ८० प्रतिशत खर्च भएको छ । आगामी आर्थिक वर्षका लागि आयोजनाका लागि ९ अर्ब बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० मा (पुष्पलाल) मध्य पहाडी लोकमार्गको २३५ किलोमिटर कालोपत्र र १६ वटा पुल निर्माण गर्न ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
निर्माण अवधि १ वर्ष मात्र
पछिल्लो पटक थपिएको म्याद अब १ वर्ष मात्र बाँकी रहेको छ । सुरूवाती चरणमा २०७४/७५ सम्ममा निर्माण सम्पन्न गर्ने भनिएको थियो । सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०७९/८० सम्म सम्पन्न गर्नेगरी म्याद थप भएको थियो । सो अनुसार अब निर्माण सम्पन्न म्याद सकिन १ वर्ष बाँकी रहेको छ ।
१ वर्षको अवधिमा बाँकी रहेको एकतिहाई काम सम्पन्न गर्न असम्भव जस्तै छ । बाँकी काम पूरा गर्न फेरि म्याद थप्नुपर्ने देखिन्छ ।
लोकमार्गको पर्वत खण्डमा निर्माण कम्पनीले काम सकेर गत वैशाखमा हस्तान्तरण गरेको थियो । उक्त सडक फेरि भत्किसकेको अवस्थामा पुगिसकेको छ ।