काठमाडौं । काठमाडौं राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ ।
दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबारदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए ।
ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक ५००, दोस्रो पटक १ हजार र तेस्रो पटकपछि १ हजार ५०० जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा १२ हजार ८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिइसकेको जनाइएको छ । ट्राफिक प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरासमेतबाट लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ ।
सीसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरेको छ ।
लेन अनुशासन पालना नगरी तीव्रगतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।