‘गियर’ बदल्दै फाष्ट ट्रयाक निर्माण

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई/मधेश द्रुतमार्ग (फस्ट ट्रयाक) निर्माणले गति लिन थालेको छ । निर्माण सुरु भएको ६ वर्ष बिते पनि पछिल्लो दुई वर्ष यता आयोजनाको कामले गति लिन थालेको हो । यद्यपि, आयोजनाले लक्ष्य अनुसारको उपलब्धी भने हासिल गर्न सकेको छैन ।

आर्थिक वर्ष २०७३/७४ देखि नेपाली सेनाले जिम्मा लिएर फास्ट ट्रयाक निर्माण गरिरहेको छ । निर्माण अवधि अब २ वर्ष मात्र बाँकी रहे पनि हालसम्म आयोजनाको समग्रमा २१.५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

निर्माण सुरु भएको सुरुका ४ वर्षमा आयोजनाको जम्मा १० प्रतिशत भौतिक प्रगति भएकोमा पछिल्ला दुई वर्षमा थप ११ प्रतिशत काम सम्पन्न भएको छ । गत वर्षसम्म १६ प्रतिशत भौति प्रगति रहेकोमा चालु आवमा थप ६.५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।

आव २०८०/८१ सम्म सम्पन्न गर्नुपर्ने आयोजनाको अझै ७९ प्रतिशत काम बाँकी रहेको छ । अब २ वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य अनुसार नेपाली सेनाले आयोजनाको कामको गति बढाएको छ ।

विगतका वर्षहरुमा सडक निर्माणको ठेक्का लाग्न नसक्दा कामले गति लिन नसकेको नेपाली सेनाका प्रवक्ता नेपाली सेना अन्तर्गत फाष्ट ट्रयाक निर्माण कार्यान्वयन तथा अप्रेशन प्रमुख विश्ववन्धु पहाडीले बताए ।

७२ किलोमिटर लामो फास्ट ट्रयाकलाई विभिन्न ११ प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ । सोमध्ये ५ वटा प्याकेजको ठेक्का सम्झौता भई तीव्र गतिमा काम भइरहेको र २ वटा प्याकेजको ठेक्का प्रक्रिया चलिरहेको उनले जानकारी दिए ।

‘विगतमा ठेक्का लगाउन नसक्दा कामले गति लिन सकेको थिएन । ११ खण्डमध्ये ५ खण्डको ठेक्का लागेर काम भइरहेको छ, २ वटा प्रक्रियामा छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘आगामी आर्थिक वर्षमा बाँकी ४ वटा प्याकेजको पनि ठेक्का लाग्ने छ । सबै ठेक्का लागेको काम तीव्र गतिमा अघि बढ्ने छ ।’ निर्धारित समयमै काम सक्ने लक्ष्य रहेको उनको भनाइ छ ।

हालसम्म कति भयो काम ?

हाल फास्ट ट्रयाक अन्तर्गत जग्गा प्राप्ती, रुख कटान, कटिङ फिलिङ लगायतका कामहरु भइरहेका छन् । साथै, ३ वटा सुरुङ निर्माणका लागि ठेक्का सम्पन्न भई अहिले खन्ने काम सुरु भएको छ ।

त्यस्तै, ८० बढी पुल निर्माणका लागि अहिले ठेक्का प्रक्रियाा चलिरहेको छ । फास्ट ट्रयाकलाई विभिन्न ११ प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ । सोमध्ये ५ वटा प्याकेजको ठेक्का सम्झौता भई तीव्र गतिमा काम भइरहेको र २ वटा प्याकेजको ठेक्का प्रक्रिया चलिरहेको पहाडीले जानकारी दिए । यद्यपि, खोकना जग्गा विवाद हालसम्म टुंगिन सकेको छैन ।

चालु आर्थिक वर्षमा सुरुङको लागि दुई वटा प्याकेजमा ठेक्का लागेको हो । पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्मको सुरुङ मार्ग निर्माणको ठेक्का लिएको छ । ३.३५५ किलोमिटर उक्त सुरुङ निर्माणको काम २१ अर्ब ६१ करोड रुपैयाँ लागतमा हुन लागेको हो । दुवै प्याकेजका ३ वटै सुरुङको डिजाइन स्वीकृत भई काम भइरहेको छ ।

दोस्रो प्याकेजमा धेद्रेदेखि लेनडाँडासम्मको सुरुङमार्ग चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले गरिरहेको छ । ३.०३ किलोमिटर उक्त सुरुङ मार्गको निर्माण २८ अर्ब ५३ करोड रुपैयाँमा हुने गरी ठेक्का लागेको हो ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख ३१ मा दुवै कम्पनीलाई ठेक्का दिइएको हो । २०८०/८१ सम्म निर्माण म्याद रहेको फास्ट ट्रयाकको निर्माण अवधि थप ३ वर्षका लागि थपिएको छ ।

हालसम्म ३२ अर्ब खर्च, आगामी वर्षका लागि ३० अर्ब 

फास्ट ट्रयाक निर्माणका लागि हालसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा फास्ट ट्रयाक निर्माणका लागि ८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ विनियोजन गरिएको थियो । उक्त बजेट मध्ये हालसम्म ८ अर्ब ६१ करोड रुपैयाँ खर्च भइसकेको पहाडीले बताए । उनले अब चालु आवको केही भुक्तानी हुन बाँकी रहेको बताए ।

‘यो वर्षको बजेट हाम्रो भुक्तानीको लागि पर्याप्त भएको छ, ९७.५ प्रतिशत भुक्तानी गरिसकेका छौं, असार मसान्तसम्म शतप्रतिशत खर्च हुन्छ,’ प्रमुख पहाडीले चाणक्य पोष्टसँग भने ।

त्यस्तै, गत आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा ८ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा १ अर्ब ९६ करोड रुपैयाँ मात्र खर्च भएको थियो ।

यस्तै, आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९/८० मा ३० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । आयोजनको कुल लागत १ खर्ब ७५ अर्ब रुपैयाँमा अनुमान गरिएको छ ।

 

अब सरकारी जग्गाा ४० वर्षसम्म लिजमा पाइने Read Previous

अब सरकारी जग्गाा ४० वर्षसम्म लिजमा पाइने

अदालतको आदेशले रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया Read Next

अदालतको आदेशले रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया