नेपाली मूद्राको सटहीदर इतिहासकै कमजोर, डलरको भाउ आकासिँयो

काठमाडौं । नेपाली मूद्राको सटहीदर इतिहासकै कमजोर बनेको छ । अन्तर्राष्ट्र्रिय प्रभावले डलरको भाउ आकासिँएसँगै नेपाली मूद्राको सटहीदरअवमूल्यन भएको हो । बुधबार नेपाल राष्ट्र्र बैंकले १ अमेरिकी डलरको खरिद मूल्य १२५.७४ र बिक्रीदर १२६.३४ रुपैयाँ तोकेको छ ।

पछिल्लो समय डलरको भाउ लगातार उकालो लागिरहेको छ । डलरको मूल्य बढ्नु भनेको नेपाली रुपैयाँको सटहीदर कमजोर हुनु हो । रुस र युक्रेन युद्धका कारण संसारभर डलरको माग बढेको छ । माग बढेसँगै मूल्यमा पनि व्यापक वृद्धि भएको छ ।

डलरको मूल्य वृद्धिले भारतीय मुद्रा हुँदै नेपाली मुद्रमा असर पर्ने गर्छ । नेपालको भारतसँग स्थिर विनिमयदर भएपनि सोही आधारमा सटहीदर निर्धारण हुने हुँदा नेपाली मूद्रा कमजोर हुने गरेको छ ।

अन्तर्राष्ट्रिय रुपमा विश्वसनिय करेन्सी तथा संसारभर कारोबार गर्न सकिने भएकाले डलरको संचिति हरेक देशले बढाउन खोज्छन् । डलर महंगीदा नेपालमा आउने पर्यटक तथा रेमिट्यान्स पठाउनेहरुलाई फाइदा भएपनि उच्च व्यापार घाटाले महंगी बढाउनुका साथै विनिमय संचितिमा दबाब पार्ने जानकारहरु बताउँछन् ।

राष्ट्र्र बैंकका अनुसार डलरको तुलनामा नेपाली मूद्रा आमूल्यन हुनेक्रम बढ्दो छ । २०७८ असार मसान्तको तुलनामा २०७९ वैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.७१ प्रतिशतले अवमूल्यन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७२ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७९ वैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२३.६३ पुगेको थियो । २०७८ असार मसान्तमा उक्त विनिमय दर रु.११९.०४ रहेको थियो ।

पछिल्लो २ महिनामा मात्र डलरको भाउ ३ रुपैयाँले बढेको छ । गत वर्षको वैशाखको तुलनामा यस वर्षको असारसम्म आइपुग्दा डलरको भाउ ८ रुपैयाँले बढेको छ ।

हिमालयन हाइड्रोपावरको आजदेखि आइपीओ निष्काशन Read Previous

हिमालयन हाइड्रोपावरको आजदेखि आइपीओ निष्काशन

१९औँ धान दिवसः घट्दो उत्पादन, ६३ प्रतिशत जमिन सिँचाइ सुविधा विहीन Read Next

१९औँ धान दिवसः घट्दो उत्पादन, ६३ प्रतिशत जमिन सिँचाइ सुविधा विहीन