काठमाडौं । पछिल्लो १० महिना यता नेपाली सेयर बजार घट्दो क्रममा छ । २०७८ भदौ २ गते इतिहासकै उच्च ३१९९ विन्दुको रेकर्ड बनाएको नेप्से त्यस यता लगातार घट्दै आज १८८४ विन्दुमा आइपुगेको छ ।
यस अवधिमा नेप्से उच्चतम विन्दुबाट १३१५ अंक घटिसकेको छ भने लगानीकर्ताले झन्डै १८ खर्ब सम्पत्ति गुमाइसकेका छन् । गत भदौ २ गते ४४ खर्ब ६८ अर्ब रहेको सेयर बजार पूँजीकरण अहिले घटेर २६ खर्ब ८७ अर्बमा सीमित हुन पुगेको छ । यस अवधिमा लगानीकर्ताको १८ खर्ब ८१ अर्ब रुपैयाँ गुमेको छ ।
सेयर बजारको आफ्नै गति र चक्र हुन्छ । सधैं बढिरहेन वा घटिरहने मात्रै हुँदैन । विश्वभर सेयर बजार यही चक्रमा चलिरहन्छ । तर, सेयर बजार आफ्नै चक्रमा चल्ने भए पनि सरोकारवाला निकायले खेल्ने भूमिका र चाल्ने कदमले भने प्रत्यक्ष प्रभाव पार्दछ । नियामकले सेयर बजार अनुकूलका नीति नियम, व्यवस्था लागू गर्दा बजार बढ्ने गरेको छ भने प्रतिकूलका व्यवस्था लाद्दा घट्ने गरेको छ ।
झन्डै ३ दशक बित्न लागे पनि अझै नेपाली सेयर बजार विकसित मुलुकहरूको जस्तो परिपक्क हुन सकेको छैन । बजार ‘नेचुरल’ रुपमा आफ्नै गतिमाभन्दा पनि हचुवाकै भरमा बढ्ने घट्ने गरेको छ । यतिसम्मकी कुनै एक नेताको एउटै भाषणले १०० अंक बढ्ने र घट्ने गरेको दृष्टान्त छन् हामीकहाँ । यद्यपि, यो सेयर बजार र लगानीकर्ताको पनि अपरिपक्कवता हो ।
अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितापत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज जस्ता नियामकले हरेक गतिविधिले सेयर बजारमा प्रभाव पर्ने गरेको छ । तर, यी निकायहरूले बिना अध्ययन र अनुसन्धान बिनै नीति नियम लागू गर्दा लगानीकर्ताले खर्बौं सम्पत्ति गुमाउनु परेका कयौं दृष्टान्त छन् ।
सेयर बजारमा उत्तरचढाव हुन सामान्य नै भए पनि पछिल्लो समय नेपाली सेयर बजारमा गिरावट आउनुमा चाहिँ नियामक निकायम मुख्य कारक बनेको लगानीकर्ताहरूको आरोप छ ।नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा गरेको कडाइ, राष्ट्र बैंक र बैंकहरूकै कारण निम्तिएको तरलता अभाव, महँगो ब्याजदर सेयर बजार घट्नुका मुख् कारण हुन् ।
कोरोनाकालको २ वर्षमा झन्डै ३ गुणाले बढेको नेप्से १० महिनामै झन्डै आधाले घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गर्दै एउटा बैंकबाट ४ करोड र समग्र बैंकिङ प्रणालीबाट १२ करोड बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो ।
त्यस्तै, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको थियो । जसले बैंकहरूले सहजै दिँदै आएको सेयर धितो कर्जामा झनै कडाइ हुन थाल्यो ।
कोरोनाकालमा अर्थतन्त्रका बैंकिङ प्रणालीमा अधिक तरलता थियो । जुन बेला बैंकहरूले सहजै सेयर कर्जा उपलब्ध गराइरहेका थिए । कोरोना प्रभाव कम हुँदै जाँदा क्रमशः अर्थतन्त्र चलायमान हुन थाल्यो । बैंकहरूले अन्य क्षेत्रमा पनि कर्जा लगानी गर्न थाले । जसले सेयर बजारमा प्रवाह हुने कर्जा क्रमशः घट्दै गयो । राष्ट्र बैंकको कडाइ र बैंकबाट ऋण पनि नपाउने अवस्था हुँदै गएपछि ठूला लगानीकर्ताहरू दबाबमा पर्न थाले, जस कारण पनि नेप्सेमा गिरावट आएको लगानीकर्ताहरू नै बताउँछन् ।
‘राष्ट्र बैंकको नीतिले बजार घट्यो’
सेयर लगानीकर्ताहरू अहिले नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाले धितोपत्र बजार ओरालो लागिरहेको बताउँछन् । सेयर लगानीकर्ता छोटेलाल रौनियार नियामकिय नीतिगत व्यवस्था र जिम्मेवार व्यक्तिहरूका अभिव्यक्तिले बजार आजको अवस्थामा पुगेको बताउँछन् ।
‘बैंकिङ प्रणालीमा तरलता अभाव छ, ४/१२ को सीमा, सीसीडीबाट सीडी रेसियो कायम गरियो । ब्याजदर वृद्धि, राष्ट्र बैंकको नीतिले बैंकहरूले ऋण दिनसकेनन,बैंकहरूले माइक्रोफाइनान्सको सेयर राख्न नपाउने, जोखिमभार १०० बाट १५० जस्ता नकारात्मक नीतिहरूले प्रभाव पारेको हो,’ उनले भने, ‘यो बाहेक जिम्मेवार व्यक्तिहरूका सेयर बजारप्रति बारम्बार नकारात्मक टिप्पणीहरू पनि हुन ।’
नियमनकानरी निकायहरूको गैरजिम्मेवारीले पूँजी बजारमा सेयर लगानीकर्ताको ठूलो धनराशी डूबेको उनले बताए । ‘नियमनकारी निकायका जिम्मेवार व्यक्तिहरूले नीती बनाउनुपर्छ । तर, यो भुल्नुहुँदैन कि ४४ खर्बको पूँजी बजार आज २७ खर्बमा झर्यो । १५ खर्ब रुपैयाँ लगानीकर्ताको गुम्यो,’ उनी प्रश्न गर्छन्, ‘त्यो नेपालीकै पैसा हो नि । को जिम्मेवार छ ?’
नियामकहरूले ठूला लगानीकर्तालाई देखाएर लिएका यस्ता नीतिहरूले साना सेयरधनीहरूलाई पनि उत्तिकै समस्या परेको रौनियारले बताए । वित्तीय प्रणालीमा तरलता अभावको समाधान नहुँदासम्म ओरालो लागेको सेयर बजार नसुधारिने उनको विचार छ ।
अर्थतन्त्रकै समस्या
बैंकिङ विज्ञ अनलराज भट्टराई सेयर बजार लगातार ओरालो लाग्नुको कारण नीतिगत व्यवस्थामात्र नभएर अन्यकारणहरू पनि भएको बताउँछन् । ‘जुन बेला बजार बढेको थियो त्योबेला नीतिगत व्यवस्थाले सर्पोट गरेको थियो । मार्जिन प्रकारको कर्जामा राष्ट्र बैंकले कडाइ गरेको थिएन, ४/१२ को नीति थिएन । कोभिडको अवधिमा मानिसहरूसँग लगानी गर्ने पैसा थियो,’ उनले भने, ‘त्यो बेलामा बजार बढेको थियो । पछि सीसीडी रेसियोबाट सीडीे, ४/१२ को सीमा जस्ता तरङ्गहरूले नकारात्मक प्रभाव पारेको देखिन्छ ।’
कोरोना महामारीपछि उपभोग्य वस्तुको व्यापक वृद्धिले कर्जा लगानी आक्रामक बनाएको र सो अनुसार निक्षेप आउन नसक्दा वित्तीय प्रणालीमा तरलता अभाव देखिएको उनले बताए ।विश्व बजारमा भएको अत्याधिक मूल्य वृद्धि, अर्थतन्त्रको समस्या लगायतका कारण लगानीकर्तासँग लगानी गर्न पैसा नहुँदा समस्या आएको उनको भनाइ छ ।
‘अहिलेको अवस्थामा कर्जाको उपलब्धता र ब्याजदरको कमी जति छिटो हुन्छ, सोही अनुसार जार सुधार हुँदै जाने जान्छ, तर मूल्य वृद्धिको रफ्तार कायम छ त्यसले केही समय अझै दबाब कायम रहने देखिन्छ,’ उनले भने ।
छैन सुधारको प्रयास
अहिले सेयर बजारको बारेमा सडकदेखि सदनसम्म चर्चा भइरहेको छ । यस क्षेत्रमा देखिएका समस्या समाधान र सुधारको माग गर्दै लगानीकर्ताहरू सडक आन्दोलनदेखि आमरण अनसनसम्म बसेका छन् । यस्तै, अर्थमन्त्रालयदेखि राष्ट्र बैंकसम्म धाइरहेका छन् ।
राष्ट्र बैंकले लिएको नीतिका कारण लगानीकर्ताले सम्पत्ति गुमाएको भन्दै सुधारको लागि सांसदहरूले समेत सदनमा आवाज उठाइरहेका छन । तर, न सरकारले ठोस पहल कदमी चालेको छ, न राष्ट्र बैंकले नै । यद्यपि, अर्थमन्त्रालयले पूँजी बजारमा समस्या समाधान गर्न भन्दै समिति गठन गरेको छ । तर, त्यसले कहिलेसम्म काम पूरा गर्ने टुंगो छैन ।
लगानीकर्ताले निरन्तर राष्ट्र बैंककै कारण बजार घटेको बताए पनि राष्ट्र बैंकले भने संवोधन गर्ने कुनै संकेत देखाएको छैन । लगानीकर्ताले ४/१२ को सीमा हटाउन माग गर्दै आए पनि राष्ट्र बैंकले नसुने झैं गर्दै आएको छ ।
सरकारले पूँजी बजारमा विदेशी लगानी भित्र्याउने, ब्रोकर संख्या बढाउने लगायत सुधारको काम गर्ने भने पनि कार्यन्वयन गर्न सकेको छैन । पूँजी बजारमा लगानी गरेको खर्बौं रकम डुबेर लगानीकर्ता सडकमा आउन सक्ने जोरिख रहेकाले सरकारले बेलैमा सुधारका प्रयास थाल्नुपर्ने भए पनि खासै सक्रियता देखाएको छैन ।