काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवाका स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ जारी गर्न लागेको हो ।
उक्त आइपीओमा अति प्रभावित क्षेत्र (गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमेरे) प्रभावित क्षेत्र (प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे) र सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुले आवेदन दिन पाउने छन् ।
निश्काशन हुने कुल सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
कम्पनीको आइपीओमा रसुवावासीले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री हुन नसकेमा ढिलोमा साउन १० गतेसम्म आवेदन दिन पाइने छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड र सह निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन्।