काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । लगातार १५० अंकको गिरावटपछि बिहीबार १२ अंकले बढेको नेप्से आज फेरि ओरालै लागेको छ ।
दुईसाता पछि बिहीबार नेप्सेमा हरियाली छाए पनि त्यो एकदिन पनि टिक्न सकेन ।सूचकसँगै आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७४ करोडले घटेर पौने अर्बम सीमित भएको छ । यो पछिल्लो डेढ वर्ष यताकै कम कारोकार हो ।
शुक्रबार नेप्से ७.५७ अंकले घटेर १९७१.३६ विन्दुमा आइपुगेको छ । यसदिन २२० कम्पनीको ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँ बराबरको २३ लाख ५४ हजार ९११ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ०.८२ प्रतिशतले घटेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, सेञ्चुरी कमर्शियल बैंकको झन्डै साढे ६ करोड र एनसीसी बैंकको ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज रिभर फल्स पावरका सेयरधनीले सबैभन्दा धेरै ५.९३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, बुद्धभूमि हाइड्रो ४.६४, सिंगटी हाइड्रो ४.३४, गणपति लघुवित्त, माउन्टेन हाइड्रो, लिबर्टी इनर्जी र माउन्टेन इनर्जीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।