काठमाडौं । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि झन्डै ७१ अर्बको बजेट ल्याएको छ ।
बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जम्मकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।
प्रस्तुत बजेट अनुसार चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पूँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ ।