काठमाडौं । हिमालयन बैंकका सेयरधनीले तीन दिनमै झन्डै १२ अर्ब रुपैयाँ गुमाएका छन् । झन्डै १३ महिनापछि जेठ २३ गतेदेखि कारोबारमा आएको बैंकको सेयर मूल्यमा लगातार गिरावट आएसँगै सेयरधनीले ३ दिनमै ११ अर्ब ७८ करोड सम्पत्ति गुमाएका हुन् ।
सोमबार ३९०.८ रुपैयाँमा कारोबार खुलेको बैंकको सेयर मूल्य ३ कारोबार दिन (आज दिउँसो १२ बजेसम्म)मा प्रतिकित्ता ९०.८ रुपैयाँ घटेर ३०० रुपैयाँमा आएको छ । ३ दिन यता बैंकको सेयर मूल्य लगातार घट्दै आएको छ ।
जेठ २३ गते ५० अर्ब ६८ करोड रहेको बैंकको बजार पूँजीकरण ३ दिनमा घटेर ३८ अर्ब ९० करोडमा आएको छ । एकसातामै बैंकका सेयरधनीले ११ अर्ब ७८ करोड रुपैयाँ सम्पत्ति गुमाएका हुन् ।
२०७८ वैशाख ३० नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेसँगै बैंकको सेयर कारोबार रोक्का भएको थियो । गत पुस ३० गते बसेको हिमालयन बैंकको साधरण सभाले इन्भेष्टमेन्टसँग मर्जरमा नजाने निर्णय गरेसँगै मर्जर भाँडिएको थियो ।
मर्जर भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । अहिले दुवै बैंकको साधरण सेयर कारोबार खुला भए पनि प्रमोटर सेयर भने रोक्का नै छ ।