असार १ गतेदेखि दुई कम्पनीले आइपीओ निष्काशन गर्ने, कुनको कति ?

काठमडौं । आगामी असार १ गतेदेखि दुई कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएका छन् ।

 

आदर्श लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावरले आइपीओ जारी गर्ने भएका हुन् । आदर्शले सर्वसाधरणका लागि र मन्दाकिनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ जारी गर्न लागेका हुन् ।

 

कुनले कति कित्ता आइपीओ जारी गर्दै ?

 

आदर्श लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो। निष्काशन हुने कुल ६७ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत (१ हजार ३५ कित्ता)कर्मचारीहरुका लागि र ५ प्रतिशत (३ हजार ३५) कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

लघुवित्तको आइपीओमा असार ६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

 

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रवन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ।

 

हाल १ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशनपछि चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ।

 

मन्दाकिनी हाइड्रोपावरले ५ करोड ८८ लाखको आइपीओ निष्काशन गर्ने

 

मन्दाकिनी हाइड्रोपावरले असार १ गतेदेखि आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला, घाचोक, गाहाचोक र धिताल गाविसका) बासिन्दाहरुका लागि आइपीओ ल्याउने भएको हो ।

 

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ५ करोड ८८ लाख ३ हजार ७०० रुपैयाँ बराबरको ५ लाख ८८ हजार ३७ कित्ता सेयर निष्काशन गर्न लागेको हो।

 

कम्पनीको आइपीओमा स्थानीयले १५ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असार ३० गतेन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

आइपीओमा मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौँ, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबी बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

श्वेत गंगा हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Previous

श्वेत गंगा हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

कालोपत्र सम्पन्न भएको बलेवा विमानस्थल कहिलेदेखि संचालनमा आउँछ ?  Read Next

कालोपत्र सम्पन्न भएको बलेवा विमानस्थल कहिलेदेखि संचालनमा आउँछ ?