यसरी संचालन हुँदैछ काठमाडौं महानगरको ‘पूर्वाधार एम्बुलेन्स’

काठमाडौं । सडकमा किनारामा जथाभावी थुपारिने फोहोरको थुप्रो, अस्तव्यस्त सवारी जाम, अव्यवस्थित पार्किङ, गुणस्तरहीन सडक लगायतले काठमाडौंको यात्रा असहज बन्दै आएको छ ।

 

घाम लाग्दा धुलाम्ये र पानी पर्दा हिलाम्ये हुने सडकले काठमाडौंबासी आजित छन् । सडक कालोपत्र गरिए पनि गुणस्तरहीन हुँदा छिट्टै भत्किने र खाल्डाखुल्डी पर्ने हुँदा फूटपाथमा हिँड्नेदेखि गाडी गुडाउने सबैले सास्ती भोग्नुपर्ने बाध्यता छ ।

 

यस्तै, सडकमा रहेका अव्यवस्थित ढलले दुर्गन्ध फैलाउनुका साथै सवारी आवतजावतमा समेत असर पार्ने गरेको छ । दशकौंदेखि यी यावत समस्या ज्यूँकात्यूँ छन् । यसबीचमा धेरै सरकार परिवर्तन भए पनि काठमाडौंका समस्या समाधान हुन सकेका छैनन् ।

 

राजनीतिक दल र महानगरको नेतृत्वले चुनावका बेला काठमाडौंका समस्या समाधान गर्ने नारा घन्काउने गरे पनि अहिलेसम्म सिन्को भाँचेका छैनन् । दृढ इच्छाशक्तिको अभाव र अक्षमताले समस्या समाधान हुनेभन्दा बढ्दै गएका छन् । जसकारण जनताले भोग्ने सास्ती र हैरानी उही छ ।

 

तर, अहिले भने यी समस्या समाधान होलान कि भन्ने काठमाडौंबासीमा आशा पलाएको छ । दशकौंदेखिको विरासत भएका ठूला भनौदा राजनीतिक दललाई साइड लगाएर महानगरको नेतृत्व सम्हाल्न आएका बालेन्द्र साहको योजनाले भने काठमाडौैंबासी आशावादी भएका छन् ।

 

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि नगर प्रमुख साहले जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकमै सडकका खाल्डाखुल्डी पुर्न पूर्वाधार एम्बुलेन्स संचालनमा ल्याउने प्रस्ताव ल्याए । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएपछि उनको यो योजनाले सार्थकता पाउन लागेको छ ।

 

सम्भवत नेपालमै पहिलोपटक संचालनमा ल्याउन लागिएको यो पूर्वाधार एम्बुलेन्सले ‘र्यापिड एक्सन’का रुपमा सडकका खाल्डाखुल्डी पुर्ने, ढल मर्मत तथा मंगलहरू व्यवस्थित बनाउने काम गर्ने छ । पूर्वाधार एम्बुलेन्स यही जेठभित्रै संचालनमा ल्याउने गरी महानगरले काम अघि बढाएको छ ।

 

यस्तो छ महानगरको तयारी

 

महानगरपालिका पूर्वाधार एम्बुलेन्स सञ्चालनका लागि टाटाका पुराना दुई वटा ठूला गाडी प्रयोग गर्नेछ । उक्त गाडीमा एउटामा ५ जना इन्जिनीयरसहितको टोली हुनेछ । उक्त टोलीले सुरूमा ठूला सडकहरूका खाल्डाखुल्डी पुर्ने काम गर्ने महागरपालिकाका प्रवक्ता महेशकुमार काफ्लेले बताए ।

 

त्यस लगत्तै साना सडकहरूमा समेत भएका खाल्टा पुर्ने उनले जानकारी दिए । महानगर कार्यपालिकाको पहिलो बैठकले कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको थियो । सोही कल सेन्टरमार्फत आएको फोनको आधारमा सेवा प्रवाह गर्ने महानगरको तयारी छ ।

 

उनले यो कार्यक्रम केही दिनभित्रै कार्यान्वयनमा आउने बताए । उनका अनुसार हाल महानगरले उक्त कार्यक्रम कार्यन्वयनका लागि जनशक्ति जुटाउने काम गरिरहेको छ । उनले र्यापिड एक्सनका क्रममा ढल मर्मत, मंगाल छोप्ने लगायतका कामहरू समेत गरिने बताए ।

 

‘अहिले जनशक्ति जुटाउने काम भइरहेको छ, जनशक्ति जुट्ना साथ हामी एक्सनमा जान्छ, र्यापिट एक्सनमा काम हुन्छ, कतै खाल्टा देखियो भने त्यसलाई तत्काल मर्मत गछौं, ढलहरू र मंगाल बन्द गर्नेछौं,’ काफ्लेले चाणक्य पोष्टसँग भने ।

 

उनले एउटा गाडीमा ५ जनाको एक्यासन टिम हुने बताए । उक्त टिमले बाटोमा भएका खाल्टा पुर्ने, कालोपत्र गर्ने र ढल व्यवस्थापन गर्नेछ । यसरी एकसाथ २ वटा टोलीलाई खटाउने तयारी भएको उनले बताए ।एउटा गाडीको टिममा १ जना इन्जिनीयर, २ जना दक्ष कामदार र थप २ जना जनशक्ति हुनेछन् ।

 

भविष्यमा कल सेन्टर मार्फत आउने जानकारीका आधारमा गुनासो आएको १ हप्ता भित्र खाल्टो पुर्ने र कालोपत्र समेत गरिने छ । यसरी सडकका खाल्टा पुर्नका लागि पुरानै गाडीलाई प्रयोग गरेर महानगरले र्यापिड एक्सनको काम अघि बढाउने जनाएको छ ।

 

१० लाखको निर्माण सामग्री खरिद

 

महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स संचालनका लागि १० लाख रुपैयाँ विनियोजन गरेर आवश्यक पर्ने निर्माण सामग्री खरिद गरेको छ । महानगरले खाल्डो पुर्नका लागि आवश्यक ढुंगा, गिट्टी, बालुवा, इँटा, रड, प्लग, ग्राभेल बेस लगायत सामग्री खरिद गरिएको प्रवक्ता काफ्लेले बताए ।

 

एम्बुलेन्सले अलकत्रा (बिटुमिन) भने बोक्ने छैन । यसका लागि खाल्डोमा सब बेस र लेभल गरेपछि पछि कालोपत्रे गर्ने बेलामा अलकत्रा प्रयोग गरिने उनले बताए । सुरूमा दुई वटा गाडीबाट सुरू गरिने यो सेवा आवश्यकता अनुसार भविष्यमा थप्दै लैजाने काफ्लेले बताए ।

 

अप्पर सोलु हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

अप्पर सोलु हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

मुग्लिङ-पोखरा सडकको याम्पा-घाँसीकुवा खण्ड दैनिक ५ घण्टा बन्द हुने Read Next

मुग्लिङ-पोखरा सडकको याम्पा-घाँसीकुवा खण्ड दैनिक ५ घण्टा बन्द हुने