३९ मेगावाट बिजुली भारत निर्यात सुरू, यी ६ हाइड्रोपावरले बेच्न पाउँछन् ३६४ मेगावाट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात गर्न सुरु गरेको छ । वर्षायाम सुरु हुन लागेसँगै उत्पादन बढ्न थालेपछि प्राधिकरणले बुधबारदेखि भारतमा बिजुली बेच्न थालेको हो ।

 

आन्तरिक उत्पादन बढ्न थालेसँगै प्राधिकरणले इण्डियन इनर्जी एक्सचेन्जमा ३९ मेगावाट बिजुली विक्री गर्न थालेको हो । बुधबार राती १२ बजेबाट भारतीय बजारमा विद्युत् पठाउन थालिएको प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणका अनुसार अहिले नुवाकोटमा संचालित त्रिशुली जलविद्युत्बाट उत्पादित २८ मेगावाट र देवीघाटबाट उत्पादित १५ मेगावाट बिजुली विक्री सुरु गरिएको हो ।

 

उक्त बिजुली ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइन मार्फत भारत पठाइएको हो । नेपालले कुल ३६४ मेगावाट बिजुली भारत निर्यात गर्न अनुमति पाएको छ । सोमध्ये अहिले ३९ मेगावाट निर्यात सुरु गरिएको छ भने आगामी दिनमा क्रमशः निर्यात बढाउँदै लैजाने प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म भारतीय ऊर्जा बजारमा विक्री गरिने बिजुली मेगावाटसहित बिडमा प्रतिस्पर्धा गर्नेछ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट विक्री दर तय हुनेछ।

 

यी ६ हाइड्रोपावरले बिजुली बेच्ने पाउनेछन्

 

भारतले नेपाललाई कुल ३६४ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको छ । भारतले गत कात्तिकमा ३९ मेगावाट र चैतमा ३२५ मेगावाट गरी कुल ३६४ मेगावाट बिजुली बेच्न अनुमति पाएको हो ।

 

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार नेपालका ६ वटा जलविद्युत् आयोजनाले भारतको दैनिक विद्युत् बजार ९डे अहेड मार्केट०मा बिजुली बेच्न पाउने छन् ।

 

नेपालबाट प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको ‘कालीगण्डकी ए’बाट १४० मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मस्र्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रीन भेन्चर्सको ५२.४ मेगावाटको लिखु-४ बाट ५१ मेगावाट गरी कुन ३२६ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएका छन् ।

 

त्यस्तै, प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत्गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् विक्री गर्न अनुमति पाएको छ ।

 

हाल नेपालको विद्युत् उत्पादन क्षमता २२०० मेगावाट रहेको छ । सोमध्ये वर्षायाममा बढी हुने करिब ६०० मेगावाट बिजुली बेच्न सकिने प्राधिकरणले जनाएको छ ।

जुत्ताचप्पल क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक Read Previous

जुत्ताचप्पल क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक

मुक्तिनाथमा प्रभु बैंकको क्यूआर कोड सेवा, अब भेटी बैंक खातामा Read Next

मुक्तिनाथमा प्रभु बैंकको क्यूआर कोड सेवा, अब भेटी बैंक खातामा