काठमाडौं । सरकारले घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढाएको छ । सरकारले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाएको होे ।
नयाँ व्यवस्था अनुसार घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर २.५ प्रतिशत बढेको छ । अब ५ वर्षभन्दा कम समय स्वामित्वमा रहेको घरजग्गा बेच्दा नाफाको ७.५ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर ५ प्रतिशत थियो ।
यसैगरी, ५ वर्षभन्दा बढी समय स्वामित्वमा रहेको घरजग्गा बेच्दा भने ५ प्रतिशत पूँजीगत कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर २.५ प्रतिशत मात्र थियो ।
१० लाख रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा किनबेच गर्दा पूँजीगत लाभकर लाग्छ । कुनै पनि घर जग्गाको विक्री मूल्य र नाफा स्वघोषणा गर्न पाइने व्यवस्था छ । तर त्यसरी गरेको घोषणा गरेको मूल्य सरकारले तोकेको मूल्याकंन रकमभन्दा कम हुनु हुँदैन ।