गाइघाट-दिक्तेल सडक ६ महिनाका लागि बन्द

उदयपुर । सगरमाथा लोकमार्गअन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट-दिक्तेल सडक खण्ड ६ महिनाका लागि बन्द गरिएको छ ।

 

गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड ६ महिनाका लागि बन्द भएको हो ।

 

सुनकोसी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज खोलिएपछि अब ६ महिनाका लागि पूर्वी तराईहुँदै गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडकमार्गमा यातायात सेवा बन्द हुनपुगेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले जनाएको छ । यहाँ छ महिनापछि पुनः अस्थायी बेलिब्रिज जडान गरिने छ ।

 

कार्यालयका अनुसार गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका-५ को फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका-९ स्थित लिच्की राम्चेबीचको सुनकोसी नदीमा गतसाल मङ्सिरमा जडान गरिएको अस्थायी बेलिब्रिज बिहीबार खोलिएपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द भएको हो ।

 

वर्षायाम सुरु भएसँगै सुनकोसी नदीमा पानीको बहाव बढ्न थालेका कारण नदीको बहावले बेलिब्रिज भत्काउन सक्ने भएकाले अहिले हटाइएको कार्यालयले जनायो ।

 

उक्त स्थानमा रौता रुक्मणि निर्माण कम्पनी प्रालीले बेलिब्रिज हिउँदका समयमा जडान गर्ने र वर्षायाममा हटाउने ठेक्का लिएको छ । उक्त बेलिब्रिज हटाइएपछि गाईघाटदेखि दिक्तेलसम्म सिधै सञ्चालन हुँदै आएका यातायातका साधन छ महिनाका लागि बन्द भएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरले जनाएको छ ।

 

उक्त सडकखण्डमा सम्पूर्ण यातायातका साधन बन्द हुँदा दैनिक खाद्यान्न ढुवानी र उपभोग्य वस्तु आपूर्तिमा जटिल समस्या आएको खोटाङ दिप्रुङ गाउँपालिका भडारेका व्यवसायी बद्री श्रेष्ठ बताए। ‘बेलिब्रिज हटाएपछि खोटाङको तल्लो क्षेत्रमा दैनिक उपभोग्य वस्तु र खाद्यान्न ढुवानीमा समस्या परेकाले स्थानीयलाई निकै समस्या पर्दछ,’ उनले भने।

 

खोटाङको दक्षिणी क्षेत्र र तल्लो पूर्वी क्षेत्रका जनताले दैनिक उपभोग्य वस्तु प्रायः विराटनगर, धरान, इटहरी, सप्तरी र उदयपुरको गाईघाटबाट दिक्तेल सडक हुँदै ढुवानी गर्ने गरेका थिए । यस्तै बेलिब्रिज हटाइएपछि खोटाङ पश्चिम तथा उत्तरी क्षेत्र नागरिकले भने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुङ्गाको हर्कपुर, जयराम घाट, हलेसी हुँदै दैनिक उपभोग्य सामग्री व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।

 

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सगरमाथा लोकमार्गअन्तर्गत १५८ किलोमिटर लामोदूरीको गाईघाट–दिक्तेल सडकखण्डको औपचारिक शिलान्यास गरेका थिए । २७ वर्ष बितिसक्दा पनि उक्त सडकखण्ड निर्माण कार्य सम्पन्न हुन सकेको छैन । साथै २०६७ मा सुनकोसी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ११ वर्ष बितिसक्दा पछि ४० प्रतिशत काम सम्पन्न हुन सकेको छैन ।

 

सुनकोसी नदीमा पक्की पुल निर्माण सम्पन्न नहुँदा विसं २०७० देखि हिउँद समयमा अस्थायी बेलिब्रिज प्रयोग गरिँदै आइएको थियो । सोही बेलिब्रिज वर्षायाममा खोल्ने र हिउँदा जोड्ने गरिएको हो ।

 

यस वर्ष ६ महिनासम्म सञ्चालनमा आएको गाईघाट-दिक्तेल सडकअन्तर्गत सुनकोसीको ५० मिटर लम्बाइ र ६ मिटर चौडाइको अस्थायी बेलिब्रिज ६ महिनापछि पुनः जोडिने कन्स्ट्रक्सन प्रालिका महेश रेग्मीले बताए । रासस

 

सम्पर्कविहीन जहाज खोज्न गएको हेलिकप्टर खराब मौसममा कारण फर्कियो Read Previous

सम्पर्कविहीन जहाज खोज्न गएको हेलिकप्टर खराब मौसममा कारण फर्कियो

८ महिनामा ३२५ किमी सडक कालोपत्र, रेलको जम्मा १.५ किमी ट्रयाकबेड निर्माण Read Next

८ महिनामा ३२५ किमी सडक कालोपत्र, रेलको जम्मा १.५ किमी ट्रयाकबेड निर्माण