काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २ जेठदेखि व्यवसायिक रूपमा संञ्चालनमा आएको छ । सोमबार बुद्ध जयन्तीको अवसरमा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले उडान थालेसँगै व्यवसायिक रूपमा सुचारु भएको होे ।
सोमबार ६२ यात्रु लिएर नेपाल आएको जजिराले १३६ जना यात्रु लिएर फकिर्एको थियो ।जजिरा एयरवेजले सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीनवटा उडानको लागि अनुमति लिएको छ ।
सुरूआती चरणमा सातामा ३ दिन उडान गरेपनि यात्रुको संख्या बढ्दै गए जजिराले दैनिक उडान थाल्ने प्राधिकरणका अधिकारीहरूको भनाइ छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको वाइडबडी विमान मार्फत परीक्षण उडान गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवलाल कर्ण पर्यटन आवागमनमा मात्र नभएर नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको अवस्थामा विमान अवतरणका लागि पनि सहज हुने बताउँछन् ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संञ्चालनमा आएसँगै नेपालको पर्यटन क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘मुख्यगरी लुम्बिनी लक्षित आउने धार्मिक पर्यटनहरू यसबाट लाभान्वित हुने छन भने समग्र पर्यटको क्षेत्रको विकासमा टेवा पुग्छ ।’
वैदेशीक रोजगारीको लागि खाडी मूलुकमा जाने नेपालीहरूका लागि संघीय राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धाउनुपर्ने बाध्यता अन्त्य हुनुका साथै खर्च पनि कम हुने उनले बताए ।
म्यानमार, थाइल्याण्ड, कम्बोडीया, लावस्,भियतनाम, जापान, दक्षिण कोरिया लगायतका देशहरूबाट बौद्धमार्गी लुम्बिनी भ्रमणका लागि आउने अपेक्षा गरिएको छ । ‘बौद्ध मार्गीहरू धेरै भएका देशहरूबाट पर्यटकहरू आवागमनको अपेक्षा गरेका छौँ । भर्खरै सुरूआत भएकोले केही समय अझै पर्खिनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘बौद्ध मार्गीहरू भएका मध्य पूर्विदेशहरूबाट नै नेपालमा धार्मिक पर्यटकहरू आउने हुन, त्यसैले प्राविधिक कार्यहरू भइरहेका छन । ती देशहरूबाट पनि उडान अनुमति मागको लागि तयारी भइरहेको छ ।’
टेन्ड्रसेट भइसकेपछि ५/६ महिनाको ट्राफिक हेरेपछिमात्र उक्त विमानस्थलबाट पर्यटकहरू आवागमनको अवस्था थाहा हुने उनले बताए ।
एक दर्जन एयरलाइन्सले उडान अनुमति लिने तयारी
हाल श्रीलंकन, सलाम एयर, थाई स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिज, ओमान एयर, चिनियाँ एयरलाइन्स लगायतले उडानको लागि अनुमति लिन प्रारम्भिक तयारी थालेको प्राधिकरणको भनाइ छ ।
वार्षिक ३० लाख हवाई यात्रुको चाप थेग्नसक्ने यो विमानस्थल गौतमबुद्धको जन्मस्थान लुम्बिनी नजिक छ । लुम्बिनी आउने दर्शनार्थीहरू लक्षित यस क्षेत्रको हवाई सुविधालाई सहज बनाउन सके बाह्य पर्यटकहरूका लागि कोसेढुङ्गा बन्ने सरकारी अधिकारीहरू बताउँछन् ।
नेपालमा कोरोना महामारीपछि करिब ठप्प बनेको पर्यटन व्यवसाय केही समय यता लयमा फर्किने चरणमा छ । पछिल्लो महिना विदेशी पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ ।सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाएर वार्षिक २० लाख पर्यटकहरू भित्रयाउने लक्ष्य लिइए पनि अव्यवस्थित पूर्वाधार, कोरोना महामारीको प्रभाव र अन्तर्राष्ट्रिय कारणहरूले सफल हुन सकेको थिएन् ।
नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरू चाप धान्न नसक्ने देखिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण थालिएको थियो । २०७४ भित्र निमार्ण सम्पन्न गर्ने गरी योजना सुरू गरएिपनि कोरोना र ठेकेदार कम्पनीको लाप्रवाहीका कारण ४ वर्ष ढीलागरी संञ्चालनमा आएको छ ।
एशियाली विकास बैंकको लगानीमा निमार्ण गरिएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको छ भने हालसम्म विमानस्थलको मुआब्जासहित ३१ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
१५ हजार १६९ वर्ग मिटरको टर्मिनल भवन र ३ हजार मिटरको धावनमार्ग रहेको उक्त विमानस्थलले आन्तरिक गन्तव्य र बाह्य उडानलाई जोड्ने अपेक्षा गरिएको छ ।