काठमाडौं । घरजग्गा कारोबारमा उच्च गिरावट आएको छ । फागुन र चैतमा उर्लिएको घरजग्गा कारोबार वैशाखामा भने ह्वात्तै घटेको हो ।
बैंकिङ प्रणालीमा भएको तरलता अभावका कारण बैंकबाट ऋण नपाउँदा घरजग्गा किनबेचमा ठूलो गिरावट आएको हो । साथै, चुनावी चहलपहलले समेत कारोबारमा प्रभाव पारेको बताएन्छ ।
चैतको तुलनामा वैशाखमा घरजग्गा किनबेच २६ हजार २४ वटाले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार वैशाखमा कुल ४४ हजार ८०३ घरजग्गा किनबेच भएको छ । चैतमा देशभरका मालपोत कार्यालयहरूबाट ७० हजार ८३० घरजग्गा किनबेच भएको थियो ।
वैशाखमा कुल ९० हजार ३३६ घरजग्ग सम्बन्धी कारोबार भएको छ । तरलता अभावका बाबजुत फागुनमा चालु वर्र्षकै दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा लिखत पारित भएको थियो ।
चालु आवमा घरजग्गा कारोबारमा उतरचढाव देखिएको छ । चालु आवको साउन र भदौमा फस्टाएको घरजग्गा कारोबार असोज र कात्तिकमा सुस्ताएको थियो । फेरि मंसिर र पुसमा बढेको घरजग्गा कारोबार माघमा ओरालो लागेको थियो भने फागुनमा बढेर फेरि चैतमा घटेको विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार चालु वर्षको १० महिनामा कुल ६ लाख ४३ हजार ५८३ घरजग्गा किनबेच भएको छ । जसमा साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा किनबेच भएको थियो भने फागुनमा दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा लिखत पारित भएको थियो ।
त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८ र माघमा ५९ हजार ५१६ घरजग्गा खरिद विक्री भएको थियो ।
राजस्व संकलन पनि घट्यो
घरजग्गा किनबेचमा गिरावट आएसँगै वैशाखमा सो बापत प्राप्त हुने राजस्व पनि घटेको छ । विभागका अनुसार वैशाखमा घरजग्गा कारोबार बापत ४ अर्ब ७८ करोड ५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यो चैतको तुलनामा ९८ करोड रुपैयाँ कम हो । चैतमा ५ अर्ब ७६ करोड राजस्व संकलन भएको थियो । फागुनमा घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड राजस्व उठेको विभागको तथ्यांक छ ।
मालपोत कार्यालयहरूबाट घरजग्गा किनबेच, नामसारी, रोक्का, फुकुवा लगायत कारोबार गर्दा सरकारलाई राजस्व प्राप्त हुन्छ । चालु आवको १० महिनामा घरजग्गा कारोबारबाट सरकारले कुल ६५ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागका अनुसार चालु वर्षमा घरजगग्गा कारोबारबाट भदौमा सबैभन्दा धेरै ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसैगरी, त्यसैगरी, साउन र असोजमा समान ७ अर्ब ३३ करोड रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड रुपैयाँ, मंसिरमा ७ अर्ब ६ करोड, पुसमा ६ अर्ब ७० करोड र माघमा ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
वैशाखमा यी ठाउँमा भएर धेरै घरजग्गा किनबेच
अघिल्ला महिनाहरूमा जस्तै वैशाखमा पनि तराईका जिल्लाहरूमा नै धेरै घरजग्गा किनबेच भएका छन् । धेरै कारोबार हुने १० जिल्लामध्ये शीर्ष ७ तराईका जिल्लाहरूनै रहेको विभागको तथ्यांकले देखाएको छ ।
वैशाखमा देशभर कुल ४४ हजार ८०३ घरजग्गाको किनबेच भएकोमा सबैभन्दा धेरै सुनसरीको भूमि सुधार तथा मालपात कार्यालय इनरुवाबाट २ हजार ६४ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।
त्यसैगरी, वैशाखमा धेरै जग्गा किनबेच हुने मालपोत कार्यालयमा मोरङकै बेलबारी मालपोतमा कार्यालय रहेको छ । चैतमा बेलबारीबाट १ हजार ८८९ घरजग्गा किनबेच भएको छ ।
वैशाखमा धेरै घरजग्गा किनबेच हुने मालपोत कार्यालयहरूमा क्रमशः भद्रपुर झापाबाट १७२०, जनकपुरधाम धनुषामा १५३६, ललितपुर लगनखेलबाट १४३१ र नेपालगञ्जबाट १३७९, भक्तपुरबाट १३१६ र चितवनबाट ११३५ घरजग्गा किनबेच भएका छन् ।
यसैगरी उपत्यकाका ललितपुर मालपोत कार्यालयबाट १४५१ वटा घरजग्गा किनबेच भएको छ । भक्तपुरबाट १३१६, कलंकीबाट १११०, साँखुबाट ७४१, चावहिलबाट ५६३, मनमैजुबाट ४४४, डिल्लिबजारबाट २७७, टोखाबाट २११ र गोटीखेलबाट १६ वटा घरजग्गाको किनबेच भएको विभागले जनाएको छ ।