काठमाडौं । भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो एचडीएफसी बैंकले आफ्ना सेयरधनीहरुलाई १५५० प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त बैंकले १ इक्वीटी सेयर बराबर १५.५० भारतीय रुपैयाँ (भारु) लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस बैंक सेयरको अंकित मूल्य भारु १ मात्र रहेको छ ।
एचडीएफसीले गत मार्च ३१ मा सकिएको आर्थिक वर्षका लागि सेयरधनीहरुलाई विगत ११ वर्षयताकै उच्च लाभांश दिन लागेको ‘इकोनोमिक टाइम्स’ ले रिपोर्ट गरेको छ ।
बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०२१/२२ का लागि प्रतिकित्ता १५.५० भारु लाभांश दिने प्रस्ताव गरेको नियामकलाई जानकारी गराएको छ । यद्दपि, उक्त लाभांश प्रस्ताव सेयरधनीहरुबाट अनुमोदन हुन बाँकी छ ।
बैंकले यसअघि सन् २०११ मा प्रतिकित्ता १६.५० भारु (१६५० प्रतिशत) लाभांश दिएको थियो । सन् २००१ यता बैंकले कुल २२ पटक लाभांश वितरण गरिसकेको छ ।
एचडीएफसीले २०२२ मार्च क्वार्टरमा २९ अर्ब ८९ करोड भारु भन्दा बढी कर तिरिसकेपछि १ खर्ब ५५ करोड भारु नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३५ धेरै हो । अघिल्लो वर्ष भने ८१ अर्ब ८७ करोड भारु नाफा कमाएको थियो ।
सन् २०२१ सम्म यसको चुक्ता पूँजी भारु ५ अर्ब ५१ करोड २७ लाख ७६ हजार रहेको छ । हालै मात्र एचडीएफसी बैंकले आफ्नो माउ कम्पनी ‘एचडीएफसी’ सँग मर्जरमा जाने घोषणा गरेको छ । उक्त मर्जर सफल भएमा एचडीएफसीको वासलातको आकार भारु १७.८७ लाख करोड पुग्नेछ ।