काठमाडौं । आज सङ्घीय संसद भवन निर्माणको सिलन्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद भवन सिलन्यास गर्न लागेका हुन् ।
५ अर्ब लागतमा सिंहदरवार भित्र संसद भवन निर्माण गर्न लागिएको हो । सिंहदरबारस्थित पुतली बगैँचामा बन्ने संसद भवन कलात्मक परम्परागत मल्लकालीन वास्तुकलामा बन्ने सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्ण प्रसाद दवाडीले जानकारी दिए ।
सरकारले ३ वर्षभित्र सम्पन्न गर्ने गरी सङ्घीय संसद भवन निर्माण गर्न लागेको हो । पुतली बगैँचाको १ सय ७३ रोपनी ८ आना जमिनमा भन्ने सो भवनका लागि यो आर्थिक वर्षमा २ अर्ब रुपैयाँ छुट्याइएको छ ।

संसद भवन परिसरभित्र ११ वटा विभिन्न प्रकारका भवन तथा पूर्वाधार रहनेगरी डिजाइन गरिएको छ । संसद भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, कमन लबी, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, पुस्तकालय, सङ्ग्राहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस तथा छपाइ भवन र ७ सय वटा सवारी साधन पार्किङ र सुरक्षाकर्मीको भवन रहने छन् ।
भवनको दायाँ भागमा राष्ट्रिय सभा र बायाँ भागमा प्रतिनिधि सभाको भवन रहनेछ भने दक्षिणतर्फ मूल ढोका रहने छ ।
सहसचिव दवाडीका अनुसार संसद् भवन निर्माणको गुरुयोजनालाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी ४ भागमा बाँढिएको छ ।
पुतली बगैँचाको १ सय ७३ रोपनीको २७ प्रतिशत भाग भवनले, ४५ प्रतिशत खुल्ला हरियाली क्षेत्र र बाँकी सडक पूर्वाधार र पानीको फोहोरा सजावटले लिने उनले बताए ।

संसद भवनमा सांसदहरुको प्रवेशका लागि उत्तरतर्फ ढोका बनाइने, दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेश गर्ने गेट रहने छ । संसद भवन भित्र छिर्नु अगाडि आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरिने व्यवस्था हुने छ ।
१५ सय जना अट्ने २ हल बन्ने
नयाँ बन्ने संसद् भवनमा प्रतिनिधि सभा हल र राष्ट्रिय सभा हल गरी २ वटा हलमा १ हजार ५ सय जना क्षमता रहने छ । प्रतिनिधि सभामा ४ सय जना संसादहरु अट्ने भुइँतलामा ठूलो हलमा ५ सय जना अट्ने जनाइएको छ । जसमा सो हलमा थप दर्शक, पत्रकार र आगन्तुक पाहुना ३ सय जना अट्ने बाल्कोनी हल र २ सय जना अट्ने सुरक्षा हल बनाइने छ ।
साथै संसदमा सभामुख कक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट अधिकारी बस्ने कक्ष र प्राविधिक कक्ष बनाइने छ । मुख्य संसद् भवनको दायाँतिर ३ तल्लाको संसद् सचिवालयको भवनमा बैठक कक्ष, तालिम हलका साथै प्राविधिक कक्ष रहनेछन् ।

यस्तै, राष्ट्रिय सभामा १ सय जना सांसद अट्ने ठूलो हल, २ सय जना अट्ने बाल्कोनी हल, ३ सय जना अट्ने सुरक्षाकर्मीको हलका साथै स्टुडियो, भिडियो कन्ट्रोल लगायतका प्राविधिक कक्ष, राष्ट्रिसभाका अध्यक्षको कक्ष लगायतका संरचना बनाइने छ ।
अतिविशिष्ट व्यक्तिहरुका लागि राष्ट्रिय सभा भवनको उत्तरतिर ४ तल्लाको भवन निर्माण गरिने छ । सो भवनमा प्रधानमन्त्रीको कार्यकक्ष, राष्ट्रिय सभाको सभाकक्ष र उपाध्यक्षको कार्यकक्ष तथा बैठक हलको व्यवस्था गरिने छ ।
यसैगरी, संसद् भवनको बायाँतर्फ उत्तरकुनामा राजनीतिक दलका संसदीय दलको कार्यालयका लागि ५ तल्ले भवन बनाइने छ । भवनमा पार्टी कार्यालयका लागि चाहिने विभिन्न कक्षहरुका साथै बैठक कक्ष, शिशु स्याहार केन्द्र समेत रहनेछ ।

एकै पटक ७ सय ५० सवारीसाधन पार्किङ गर्न सकिने छुट्टै पार्किङ भवनको समेत व्यवस्था गरिने दवाडीले जानकारी दिए । सुरुमा अन्डरग्राउन्ड पार्किङको डिजाइन गरिए पनि सुरक्षाको कारण देखाउँदै त्यसलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ ।
संसद्को आफ्नै भवन नहुँदा सरकारले वार्षिक १५ करोड रुपैयाँ खर्चदै आएको छ । सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक १५ करोड भाडा बुझाएर प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन गरिरहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले संसद् भवन निर्माणका १७ वटा बोलपत्रको प्राविधिक मूल्याङ्कन गरिरहेको छ । मूल्यांकन अन्तिम चरणमा पुगेको दवाडीले जानकारी दिए ।