काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।
कम्पनीको आइपीओमा पहिलो दिनमै मागभन्दा ११ गुणा बढी आवेदन परेको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्ममा ३ लाख ५३ हजार ५८७ जनाले ४१ लाख १७ हजार ९५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ११.१४ गुणा बढी हो ।
लघुवित्तले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता साधरण सेयर विक्रीमा ल्याएको छ ।
निष्काशित कुल सेयरमध्ये ६ हजार ८२ कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा वैैशाख ६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
लघुवित्तको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपालले ‘केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम जोखिम रहेको जनाउँदछ ।
हाल ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ बाँडफाँटपछि १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।
कति कित्ता भर्नु उपयुक्त ?
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई ३ लाख ६९ हजार ४८८ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ३६ हजार ९४८ जनालाई मात्र सेयर दिन पुग्छ ।
कम्पनीको आइपीओमा पहिलो दिनमै साढे ३ लाख बढीले आवेदन दिएक छन् भने यसअघि खुलेका आइपीओमा २६ लाख बढिले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात् १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।