काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत लघुवित्तमध्ये अब ३ वटा (हालै सूचीकृत जाल्पा, राष्ट्र उत्थान र नेष्डो समृद्ध बाहेक)लघुवित्तले मात्रै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।
हालसम्म सूचीकृत ४६ लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् भने ग्रामीण विकास लघुवित्तले लाभांश बिनै साधरण सभा बोलाएको छ । तीमध्ये ४२ वटाले साधरण सभाबाट पारित समेत गरिसकेका छन् भने ४ वटाको साधरण सभा हुन बाँकी छ ।
हालसम्म लाभांश घोषणा गर्न बाँकी लघुवित्तहरुमा मानुषी लघुवित्त, समाज लघुवित्त र घोडाघोडी लघुवित्त रहेका छन् ।
लाभांश घोषणा गरेका ४६ लघुवित्तमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरेको छ । जीवन विकासले गत आवको मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यस्तै, सबैभन्दा कम लाभांश एनआइसी एशिया लघुवित्त रहेको छ । एनआइसीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिएको छ ।
हालै सूचीकृत भएका जाल्पा, राष्ट्र उत्थान र नेष्डो समृद्धसहित नेप्सेमा ५३ वटा लघुवित्त सूचीकृत छन् ।