हिमालयन पावरको दोर्दीखोला हाइड्रोपावरले वैशाखदेखि बिजुली उत्पादन थाल्ने

सांकेतिक तस्वीर

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा लमजुङको दोर्दीखोला निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ ।

 

२७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र यही चैत महिनाभित्र परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले बताए ।

 

उनले भने, “हामीले आयोजनाको निर्माण सम्पन्न गर्दै एक महिनाको लामो परीक्षण गरिसकेका छौँ । यसबीचमा साना–साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थललगायतका क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने कार्य भइरहेको छ ।”

 

चैत महिनाभित्रमा बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिकरुपमा विद्युत् उत्पादन गर्ने उनको भनाइ थियो ।

 

आयोजनाको शतप्रतिशत नै निर्माण सम्पन्न भए पनि गत असारमा आएको बाढीले क्षति बनाएको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ । इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायतका काम सम्पन्न भइसकेको छ । उक्त सबैको सफल परीक्षणसमेत भइसकेको छ । त्यस्तै, पाइप बिच्छ्याउने, सुरुङ खन्नेलगायतका अधिकांश निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

 

पेनस्टेकको ७०० मिटर, तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप बिच्छ्याउने, अर्को दुई हजार २७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको छ ।

 

विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत्गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पु¥याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ ।

 

पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो ।

 

सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि विसं २०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि सम्पन्न भएन । सोपश्चात् यही चैत महिनाभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहे पनि अगामी वैशाख महिनामा मात्र उत्पादन हुने भएको छ ।

 

सुरुमा ४ अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले ४ अर्ब ६४ करोडसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ ।

 

यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५.७ प्रतिशत, आइएमई गु्ररुपको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पीपीए सम्झौता भएको थियो ।

दोर्दी खोलाका ४ हाइड्रोपावर ११८ मेगावाट बिजुली उत्पादन हुँदै, कुनको कति मेगावाट ? Read Previous

दोर्दी खोलाका ४ हाइड्रोपावर ११८ मेगावाट बिजुली उत्पादन हुँदै, कुनको कति मेगावाट ?

प्रदेशको पूँजीगत खर्च झनै दयनीय, कुन प्रदेशले कति गरे ? Read Next

प्रदेशको पूँजीगत खर्च झनै दयनीय, कुन प्रदेशले कति गरे ?