आगामी बजेटमा कृषिलाई पहिलो प्राथमिकता : अर्थमन्त्री

रुकुम । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् ।

 

सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रीत हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरू गरेको जानकारी दिएका हुन् ।

 

‘आगामी आबको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडी बढाएका छौं’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मदत गर्ने विश्वास छ ।’

 

कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आवदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए ।

 

उनले प्रमुख शहरसँग ग्रामीण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए । ‘एउटा शहरबाट अर्को शहरको दुरी घटाउने योजना बनाएका छौं । उदाहरणका लागि काठमाडौंबाट पोखराको सडक दुरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेका छौं । अन्यत्र पनि यस्तै योजना बनाउँदैछौं’ उनले भने, ‘ग्रामीण अर्थतन्त्र सुधारमा हामी बिशेष ध्यान दिँदैछौं । ग्रामीण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता गरिनेछ ।’

 

उनले जनतामा आधारित बिकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने बताऐ । ‘जनताले विकासको अनुभूति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछन्’ उनले भने, ‘निर्माण कार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ ।’

 

उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य बस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य श्रृङ्खलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको बताऐ । यद्यपि, मूल्यवृद्धिका लागि राखिएको बार्षिक लक्ष्यको बाञ्छित सिमा भित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको बताए ।

 

शोधानान्तर घाटालाई बिस्तारै सुधार गर्दैै लगेको तथा तरलता अभाव केही दिन भित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र विस्तारै लयमा आउने विश्वास दिलाए । अहिले अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उनले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताए ।

बुटवल-नारायणगढ सडक : काम सक्नुपर्ने बेलामा बल्ल १०% पूरा, खाल्डाखुल्डी र धूलोले सास्ती Read Previous

बुटवल-नारायणगढ सडक : काम सक्नुपर्ने बेलामा बल्ल १०% पूरा, खाल्डाखुल्डी र धूलोले सास्ती

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट Read Next

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट