काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत मंगलबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गतसाता औसतमा दैनिक साढे २ अर्बको कारोबार भएकेमा आज सवा २ अर्बमा सीमित भएको छ ।
आइतबार सेयर बजार मापक सूचक नेप्से १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा आइपुगेको छ । यसदिन २२४ कम्पनीको २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये लगानी बाहेक बाँकी सबे समूहको परिसूचक राताम्मे भएको छ । लगानी समूह १.६६ प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ ।
कारोबार भएका २२४ कम्पनीमध्ये ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, जीवन विकास लघुवित्त १२ करोड र नेपाल टेलिकम साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ भने इमर्जिङ नेपाल करिब १० प्रतिशत बढेको छ ।
त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक ४.८९, सप्तकोशी विकास बैंक ४.४८, जीवन विकास लघुवित्त २.९१ र नारायणी विकास बैंकको सेयर मूल्य २.४८ प्रतिशतले बढेको छ । त्यस्तै, जाल्पा लघुवित्त, गुराँस लघुवित्त, किसान लघुवित्त र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य डेढ प्रतिशतशले बढेको छ ।