काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले निर्माणधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागतको बारेमा प्रश्न उठाएका छन् । उनले चैत १ गते विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बोल्दै भैरहवा अन्तर्राट्रिय विमानस्थलभन्दा सानो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै दोब्बर खर्च लागेको भन्दै प्रश्न उठाएका थिए ।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल करिब ११ अर्ब रुपैयाँमा सम्पन्न भए पनि सोभन्दा सानो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत झन्डै दोब्बर भएकोमा उनले प्रश्न उठाएका थिए ।
‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेभन्दा छोटो रनवे भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल धेरै खर्च लागेको देखिन्छ, भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ?,’ गृहमन्त्री खाणले भने ‘नेपाल सरकार र एशियाली विकास बैंकको लगानीको भैरहवा विमानस्थल ११ अर्बमा बन्ने पोखराको त्यो विमानस्थलको लागत किन २५ अर्ब?’
सरकारकै मन्त्रीले पोखरा विमानस्थलको लागतबारे प्रश्न उठाएपछि अहिले यसको लागत बारे चर्चा हुन थालेको छ । सामाजिक संजालदेखि अर्थविद्, पूर्वाधारविद्हरूले भैरहवा र पोखरा विमानस्थलको लागतबारे तुलनात्मक टिप्पणी गरिरहेका छन् ।
कुन विमानस्थल कत्रो ?
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पोखराकोभन्दा ५०० मिटर बढी लामो छ । भैरहवाको धावनमार्ग ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको रहेको छ भने पोखरा विमानस्थल २ हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहेको छ ।
भैरहवा विमानस्थलको टर्मिनल भवनको क्षेत्रफल १५ हजार स्क्वायर मिटर रहेको छ भने पोखरा विमानस्थलको (आन्तरिक ६ हजार र अन्तर्राष्ट्रिय ८ हजार) १४ हजार स्क्वायर मिटर रहेको छ ।
भैरहवा विमानस्थल १० हजार रोपनीमा फैलिएको छ भने पोखरा विमानस्थलको क्षेत्रफल ३ हजार ८९९ रोपनी रहेको छ । त्यस्तै, भैरहवा विमानस्थलको वार्षिक यात्रु क्षमता ७ लाख रहेको छ भने पोखराको ५ लाख रहेको छ ।
भैरहवा विमानस्थलको पहिलोचरणको काम सम्पन्न हुँदासम्म ११ अर्ब खर्च भएको छ भने दोस्रो चरणको सम्पन्न हुँदा २२ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यस्तै, पोखरा विमानस्थलको पहिलोचरण काम पूरा हुँदा ११ अर्ब र सबै कामसकिँदा २५ अर्ब बढी खर्च हुने अनुमान गरिएको छ ।
पोखरा विमानस्थलको लागत किन धेरै ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले पोखरा र भैरहवा विमानस्थल निर्माण निकै फरक भएको बताए । उनले पोखरा विमानस्थलमा प्रयोग हुने इक्यूपमेन्टहरू भैरहवा विमानस्थलकोभन्दा धेरै खर्च लागेको बताए । यस्तै उनले ८०० रोपनी जमिन अधिग्रहणका लागि झण्डै ४ अर्ब खर्च भएको बताए ।

उनले पोखरा विमानस्थलमा ह्याङगर राखिएको तर भैरहवामा ह्याङगर नराखिएको बताए । ‘हाम्रो आयोजना पूरै प्रोजेक्टको लागत नै २२ अर्ब अनुमान गरिएको थियो, त्यस अनुसार सबै काम भइरहेको छ, हाम्रो इक्यूपमेन्ट धेरै महंगो पनि छ, हामीले १४ वटा भवन बनाएका छौँ,’ आयोजना प्रमुख मुनकर्मीले चाणक्य पोष्टसँग भने ‘डिजाइनदेखि सबै खर्च एकै ठाउँ गासिएर आएकोले महंगो भएको हो ।’
तोकिएभन्दा ६ महिनाअगाडि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ सुरू भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अझै सम्पन्न हुन सकेको छैन । कोरोना भाइरस संक्रमणका कारण निर्माणमा ढिलाई भएको पोखरा विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारमा निर्माणको काम सुरू गरेको थियो ।
हालसम्म विमानस्थलमा धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्वाक्यर मिटरमा बन्ने छ । ८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्वाक्यर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिँदै छ ।
पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ११ अर्ब रुपैयाँ लगानीमा सम्पन्न भएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरू भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

यो आयोजना २०१५ मा निर्माण सुरू भएको थियो । सन् २०१८ डिसेम्बरमा सक्ने लक्ष्य राखिएको यो विमानस्थल चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको हो । हाल उडान परीक्षण सकी सञ्चालनको तयारीमा रहेको छ ।
चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरू गरेको थियो । विमानस्थलमा धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको निर्माण गरिएको छ ।