फास्ट ट्रयाकमा सुरुङ खन्ने अन्तिम तयारी

सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा सुरुङ खन्ने अन्तिम तयारी गरिएको छ । फास्ट ट्रयाक अन्तर्गत २ वटा प्याकेजमा निर्माण हुने सुरुङ खन्नका लागि पूर्व तयारी अन्तिम चरणमा पुगेको हो ।

 

हाल सुरुङ खन्नका लागि पूर्व तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए । उनका अनुसार क्याम्प म्यानेजमेन्ट, निर्माण समग्री ल्याउने, फिल्ड सर्भे र सुरुङ खन्ने ठाउँ मार्किङको काम भइरहेको छ ।

 

उक्त कार्य सम्पन्न भए लगतै सुरुङमार्गको काम सुरू हुने उनले बताए । ‘सुरुङ निर्माणका लागि क्याम्प म्यानेजमेन्ट, इक्युपमेन्ट, सुरुङ खन्ने ठाउँ मार्किङ र फिल्ड सर्भेको काम भइरहेको छ, हो, यो पूरा हुना साथ निर्माण सुरू हुन्छ,’ सिलवालले चाणक्य पोष्टसँग भने ।

 

इन्जिनीयरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बन्ने सुरुङमार्गको निर्माण चाँडै सुरू हुने उनले बताए ।फास्ट ट्रयाकमा दुई प्याकेजमा ३ वटा सुरुङमार्ग निर्माण हुनेछन् ।

 

प्याकेज १ र २ मा रहेको दुवै सुरुङमार्ग निर्माणको ठेक्का चाइनिज कम्पनीले पाएका छन् । पहिलो प्याकेज अन्तर्गत छोक्रेडाँडादेखि धेद्रेसम्मको सुरुङमार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कम्पनीले पाएको छ । यसखण्डमा ३.३५५ किलोमिटर उक्त सुरुङ २१ अर्ब ६१ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको हो  ।

 

यस्तै, दोस्रो प्याकेज अन्तर्गत धेद्रेदेखि लेनडाँडासम्मको सुरुङमार्ग चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले बनाउने छ । ३.०३ किलोमिटर उक्त सुरुङमार्गको निर्माण २८ अर्ब ५३ करोड रुपैयाँमा हुने गरी ठेक्का लागेको हो । यस खण्डमा दुईवटा सुरु ङ बन्नेछन् ।

 

२०७८ वैशाख ३१ गते दुवै ठेक्का सम्झौता सम्पन्न भई मोबिलाइजेशन सहित काम सुरू भएको थियो ।

 

४ हजार ७६१ रोपनी जग्ग्गा प्राप्ति

 

आयोजना अन्तर्गत ५ हजार १७२ रोपनी जग्गा अधिग्रहणको लागि सूचना प्रकाशित गरिएकोमा हालसम्म ४ हजार ७६१ रोपनी जग्ग्गा प्राप्ति भएको छ । हालसम्म ४११ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको छ ।

 

खोकनाको जग्गा विवादको समाधानका लागि राष्ट्रिय योजना आयोगको संयोजकत्वमा २०७७ पुस १७ गते उपसमिति गठन भइ आवश्यक समन्वयन तथा पहल भइरहेको छ ।

 

यद्यपि, खोकना जग्गा विवादमा हालसम्म कुनै ठोस निकास हुन सकेको छैन । आयोजनाको निर्माण कार्य लक्ष्य २०८०÷८१ रहेको छ । बजेटको अनिश्चतताले निर्माण कार्य तोकिएको समय अवधिमै नसकिने संकेत देखिएको छ । बजेटमा ढिलाइ भए काम अझै २÷३ वर्ष लम्बिन सक्ने अनुमान गरिएको छ । फास्ट ट्रयाक निर्माण अवधि २०८१ मंसिरसम्म रहेको छ ।

 

२३ प्रतिशत बजेट खर्च

 

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा आयोजनाको २३.८१ प्रतिशत खर्च भएको हो । अर्थमन्त्रालयका अनुसार फास्ट ट्रयाक निर्माणमा चालु आवमा मात्र २ अर्ब १२ करोड ५५ रुपैयाँ खर्च भएको हो । आयोजनाको निर्माण काममा मात्र चालु आवमा २ अर्ब ९ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । कर्मचारी तथा अन्य चालु खर्च ३ करोड ४३ लाख रुपैयाँ भएको तथ्यांकले देखाएको छ ।

 

चालु आर्थिक वर्षमा फास्ट ट्रयाक निर्माणका लागि ८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ विनियोजन भएको थियो । सो मध्ये २३ प्रतिशत मात्र बजेट खर्च भएको हो ।

 

कुल ७२.५ किलोमिटर लम्बाई रहेको फास्ट ट्रयाक १ खर्ब ७५ अर्ब रुपैयाँमा सम्पन्न हुने अनुमान गरिएको थियो । फास्ट ट्रयाक निर्माणमा हालसम्म १६.१० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । आयोजनाले चालु आर्थिक वर्षमा थप ५.१० किलोमिटर सडक निर्माणको काम सक्ने लक्ष्य राखेको छ ।

 

आयोजनाको विभिन्न पहुँच मार्ग सडक खण्डमा १४ वटा बेली ब्रीज जडान गर्ने योजना मुताबिक एबिउटमेन्ट निर्माण गरी बेलि ब्रीज जडान गर्ने कार्य अगाडि बढाइएको सेनाले जनाएको छ । हालसम्म निजगढमा २ वटा, बागदेवमा ३ वटा, धेद्रेमा २ वटा र सिस्नेरीमा १, लेनडाँडामा २ वटा गरी १० वटा पुल जडान गर्ने योजना रहेको छ ।

 

आयोजनालाई हाल ११ प्याकेजमा विभाजन गरी काम भइरहेको छ । सोमध्ये ५ वटा प्याकेजका लागि ठेक्का आह्वान भइसकेको छ भने बाँकी ६ वटा प्याकेजका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको सेनाले जनाएको छ । अब लेन डाँडादेखि खोकनासम्मका लागि करिब ४० किलोमिटर सडक र पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको सेनाले जनाएको छ ।

नेको इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नेको इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

नारायणगढ-बुटवल सडक विस्तार सुस्त, सकिनुपर्ने बेलामा जम्मा १२ प्रतिशत काम पूरा Read Next

नारायणगढ-बुटवल सडक विस्तार सुस्त, सकिनुपर्ने बेलामा जम्मा १२ प्रतिशत काम पूरा