काठमाडौं । सेयर बजारमा उछाल आएको छ । आइतबार बजार खुलेको पहिलो एक घण्टा (१२ बजेसम्म)मा नेप्से ५५ अंकले बढेर २६२३ विन्दुमा पुगेको छ ।
नेप्सेमा लगातार उछाल आएको यो दोस्रो दिन हो । गत बिहीबार पनि नेप्से करिब ५२ अंकले बढेको थियो । पछिल्लो एक महिना यता लगातार घटेको नेप्से बिहीबारदेखि उकालो लागेको हो । सो अवधिमा नेप्से झन्डै ३०० अंकले घटेको थियो ।
बजार बढ्ने खास कारण केही नभए पनि अधिकांश कम्पनीको सेयर मूल्य एक वर्ष यताकै कममा आएपछि लगानीकर्ताले सस्तोमा खरिद गर्न थालेको आकलन गरिएको छ । बजारका राम्रा र आकर्षक लाभांश दिने कम्पनीहरुको पनि सेयर मूल्य निकै तल आएपछि लगानीकर्ताले धमाधम उठाउन थालेको बताइन्छ । साथै, नेप्सेमा ठूलो करेक्शनपछि पुनः बजारले गति लिने आशामा लगानीकर्ताले सेयर किन्न थालेको बताइन्छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले चैत महिनामा ब्याजदर नबढाउने हल्लाले पनि बजार बढ्न सहयोग पुगेको छ । ब्याज बढाउँदा पनि निक्षेप नआएपछि बैंक तथा वित्तीय संस्थाहरुले चैतमा ब्याज नबढाउने तयारी गरेको बताइन्छ । यद्यपि, आधिकारिक घोषणा भने भएको छैन ।
पछिल्लो समय पूँजीगत खर्च बढ्न थालेको छ । जसले गर्दा तरलता सहज हुँदै जाने अपेक्षा गरिएको छ । तरलता सहज भए बैंकको ब्याजदर केही घट्ने र बजारलाई सहयोग पुग्ने लगानीकर्ताको विश्वास छ ।
त्यस्तै, स्थानीय तहको चुनाव नजिकिएकाले पनि बजारले गति लिन थालेको लगानीकर्ता बताउँछन् । लगानीकर्तामा हरेक चुनावी वर्ष सेयर बजार बढ्छ भन्ने मनोविज्ञान रहेको छ । अहिले यसले पनि काम गर्न थालेको बताइन्छ ।
यद्यपि, पछिल्लो समय सरकारी निकायहरुले सेयर बजार बढ्न सहयोग पुग्ने खालका कुनै पनि नीतिगत निर्णयहरु आएका छैनन् ।नेपाली सेयर बजार अझै पनि परिपक्व नभएकाले बेलाबेलामा बिनाकारण ठूलो अंकले घटबढ हुने गरेको छ । यसमा लगानीकर्ता आफैं सचेत भने हुनुपर्ने देखिन्छ ।