काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । पछिल्लो तीन साता यता लगातार घटिरहेको नेप्से आज उच्च अंकले फर्केको हो ।
सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४४ करोड बढेर पौने ३ अर्ब रुपैयाँ पुगेको छ ।
बिहीबार सेयर बजार मापक सूचक नेप्से ५२.२१ अंकले बढेर २५६६.७९ विन्दुमा पुगेको छ । यसदिन २२६ कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँ बराबरको ५६ लाख १० हजार ६३१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहमध्ये अन्य बाहेक बाँकी सबै समूहको परिसूचमका हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ५.०४ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक र हाइड्रोपावर समूह पनि ४ प्रतिशतले बढेको छ ।
कारोबार भएका २२६ कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको घटेको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे १६ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, नेपाल टेलिकम १३ करोड र एनआइसी एशिया बैंक ११करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज इमर्जिङ नेपालको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, प्रोग्रेसिभ फाइनान्स र ज्योति विकास बैंकको सेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ भने सेन्टर फाइनान्स र हिमालयन पावरको ८ प्रतिशत बढेको छ ।
त्यस्तै, युनिभर्सल पावर, सप्तकोशी डेभलपमेन्ट बैंक, विजय लघुवित्त, युनाइटेड इदीमार्दी, युनियन हाइड्रो, पोखरा फाइनान्स, युनाइटेड मोदी र न्यादी हाइड्रोपावरका सेयरधनीले ७ प्रतिशत कमाएका छन् ।