हिमालयन हाइड्रो एक्स्पो चैत १८ देखि हुने, १०० बढी स्टल रहने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत्र १८ देखि २० गतेसम्म हुने भएको छ । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो ।

 

‘नेपालको जलविद्युत्को बजारीकरण’ भन्ने नाराका साथ भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा एक्स्पो आयोजना हुन लागेको छ । नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने गरि एक्पो आयोजना हुन लागेको हो ।

 

भारतीय राजदूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । एक्स्पोले जलविद्युत्को बजार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको अवसर पनि उजागर गर्ने छ ।

 

नेपालमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा एक्पोले सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

 

हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रो सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामुनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको हो ।

 

३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् । जलविद्युत् प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमा लगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाइ छ ।

 

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोपावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन विशेष आकर्षण बन्नेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा समावेश गरिनेछ ।

 

विद्युतीय सवारी साधनको बजारीकरण तथा एक्स्पो को माध्यमबाट जलविद्युत्को आन्तरिक बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने इपानका उपाध्यक्ष आशिष गर्गले बताए । विद्युतीय सवारीका साथै विद्युतीय चुल्होको प्रयोगलाई विशेष जोड दिनु पर्ने बताउँदै उनले यसबाट जलविद्युत्को आन्तरिक बजार बिस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

 

यसका साथै एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्थाका साथै भर्चुअल रियालिटी टूरको व्यवस्था गरिएको अर्को आयोजक संस्था एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । विद्युत्को सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्याउने विश्वास प्रधानको छ ।

 

साथै एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइने छ ।

 

जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ । ५० हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

 

चौथो ट्रिनाले अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बर्जर पेन्टस् साझेदार Read Previous

चौथो ट्रिनाले अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बर्जर पेन्टस् साझेदार

सेयर बजार सुधार्न बोर्ड र नेप्से प्रमुखलाई अर्थमन्त्रीले दिए यस्ता ११ निर्देशन Read Next

सेयर बजार सुधार्न बोर्ड र नेप्से प्रमुखलाई अर्थमन्त्रीले दिए यस्ता ११ निर्देशन