पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारले घट्ने क्रम अझै जारी राखेको छ । यो साता आइतबारदेखि ओरालो लागेको बजारले आज पनि निरन्तरता दिएको छ ।
आज सूचकमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा ११ करोडले बढोत्तरी आएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट आकर्षक लाभांश घोषणा गरिरहेका भएपनि त्यसले लगानीकर्ताको ध्यान तान्न सकेको छैन् । दिनदिनै बजार घट्न थालेपछि लगानीकर्ता थप निराशावादी भएका छन् ।
सेयर बजार मापक सूचक नेप्से ३.४६ अंकले घटेर ११६३.२१ अंकमा आइपुगेको छ । आज १७१ कम्पनीको ३४ करोड १७ लाख ४५ हजार १३६ रुपैयाँको कारोबार भएको छ । १५ लाख ३ हजार ९२८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्ये सामूहिक लगानी कोष समूहको बाहेक अरु बाँकी सबै समूहको सूचक ओरालो लागेका छन् ।
सामूहिक लगानी कोष समूहको सूचक ०.०२ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ४९.०३ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १.७५ अंकले झरेको छ ।
कारोबार रकमको आधारमा सोल्टी होटेलको सेयर शीर्ष स्थानमा रह्यो । यसको ४ करोड ५५ लाख ५१ हजार ६५२ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा लक्ष्मी बैंकको प्रमोटर सेयर र छिमेकी लघुवित्तको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । लक्ष्मीको १ करोड ९० लाख र छिमेकीको १ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब ४.४१ प्रतिशतलेले बढेको छ भने नबिल इक्विटी फन्डको सेयर मूल्य सबैभन्दा धेरै ६.६९ प्रतिशतले घटेको छ ।